प्रथम मानवता संरक्षण अन्तर्राष्ट्रिय सम्मेलन हुँदै



वीरगन्ज : मर्कजी जमिअत अहलेहदीस वीरगन्जले नेपालमा ‘प्रथम मानवता संरक्षण अन्तर्राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ। बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै मर्कजी जमिअत अहलेहदीसका महासचिव अजिजुर्रहमान तुरबत मदनीले सम्मेलनबारे जानकारी दिँदै तयारी पुरा भएको जानकारी दिएका छन्।

वैशाख ६ देखि ८ गतेसम्म संचालन हुने सम्मेलनमा देश तथा विदेशका मुस्लिम धर्मावलम्बीहरूको सहभागिता हुने बताइएको छ। मुस्लिम समुदायप्रतिको गलत भ्रम चिर्न सम्मेलन आयोजना गरिएको महासचिव मदनीले बताए।

‘मुस्लिममाथि आतंकको आरोप लाग्ने गरेको छ। हामी आतंकवादी होईन’, उनले भने, आंतकवादीको कुनै धर्म, जात हुँदैन।’ हत्याहिंसा गर्नेलाई कानुनी कारवाही गर्न महासचिव मदनीले आग्रह गरे।

मुस्लिम ग्रन्थ (कुरान)मा उल्लेख गरिए अनुसार एउटा मानवको हत्या गरिएमा सम्पूर्ण मानवको हत्या भएको बुझिन्छ, उनले भने,  ‘त्यसैले हामी हत्या हिंसाको पक्षमा छैनौं।’

सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम गरेको आयोजकले बताएको छ। सम्मेलनमा नेपालका सबै ठाउँबाट करिब १ लाखको सहभागिता हुने अनुमान गरिएको छ। 

यसैबीच तयारी अन्तिर चरणमा पुगे पनि गएराती आएको हावाहुरीले सम्मेलन स्थलमा क्षति पुर्याएको छ। विगत दुई सातादेखि सम्मेलन गर्नको लागि निर्माण गरिएको पण्डाल राती आएको हावाहुरीले भत्काएको छ।   

  

प्रतिक्रिया दिनुहोस्