भारतका आठ राज्यमा नेपालको जस्तै आँधी, ४१ जनाको मृत्यु



नयाँ दिल्ली : भारतका आठ राज्यमा मंगलबार आएको आँधी, मुसलधारे पानी र चट्याङबाट ४१ जनाको मृत्यु भएको छ। ४० जना घाइते भएका छन्। नेपालको बारा–पर्सामा आएजस्तै आँधी हुन्डरी गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखन्ड, हिमाचल, हरियाणा र नयाँ दिल्लीमा आएको थियो।

आँधीबाट सबैभन्दा बढी गुजरात, राजस्थान र मध्यप्रदेश प्रभावित भएका छन्। मृतक ४१ मध्ये यी राज्यमा ३४ जना छन्। दर्के पानी परेपछि तापक्रमसमेत घटेर ४० डिग्रीभन्दा मुनि झरेको छ।

भारतको मौसम विभागले बुधबार र बिहीबार पनि आँधी हुन्डरी आउन सक्ने, पानी दर्किने अनुमान गरेको छ। राजस्थान र पन्जाबमा ६० किलोमिटर प्रतिघन्टाको तीव्र आँधी चलेको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले आठै राज्यमा आँधी हुन्डरीलगायतबाट मारिएकाका परिवारलाई जनही २ लाख र घाइतेलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

नयाँ दिल्लीमा बुधबार ५०÷६० किलोमिटरको गतिमा हावा चल्ने र पानी पर्ने सम्भावना मौसम विभागले व्यक्त गरेको छ। उसले यतिबेला वायुमण्डलको माथिल्लो भागमा तातो हावा रहेका बेला अरब (मेडिटेरानियन) सागर र बंगालको खाडी (बे अफ बंगाल) बाट आएको चिसो हावाबीच प्रतिक्रिया हुँदा एक्कासी मौसम परिवर्तन भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्