मनाङमा हिउँ पर्न शुरु, तापक्रम माइनस ८ डिग्री सेल्सियस



लमजुङ : हिमाली जिल्ला मनाङमा सोमबार हिउँ परेको छ । सोमबार बिहान १० बजेतिरबाट हिउँ पर्न थालेको र दिउँसो ३ बजेबाट भने रोकिएको ङिस्याङ गाउँपालिकाको मनाङ गाउँस्थित छिरिङ लोप्साङ गुरुङले बताए ।

‘माथिल्लो क्षेत्रको तिलिचो र थोराङ्ला क्षेत्रमा हिउँ परिरहेको छ । हिउँ जमेको छ । बस्ती क्षेत्रमा केही मात्रामा जमेको हिउँ केही पग्लिएको छ,’ उनले भने । गएका वर्षभन्दा एक महिनाअघि नै हिउँ परेको उनले बताए ।

यसैगरी नार र फू गाउँ र आसपासमा हिउँ परेको नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाले बताए ।

मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीका अनुसार माथिल्लो मनाङका सबैजसो क्षेत्रमा हिमपात भएको छ । २ हजार ८ सय मिटरमाथिका सबैजसो ठाउँमा हिमपात भएको उनले बताए । उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका केही बस्तीमा करिब २ फिटसम्म हिउँ परेको छ ।

चिसो अत्याधिक बढेपछि तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म झरेको प्रजिअ गिरीले बताए ।

प्रकाशित : मंसिर २, २०७७

प्रतिक्रिया दिनुहोस्