पर्सामा कोरोना संक्रमित महिलाको मृत्यु



वीरगञ्ज : कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१५ की ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेजले वीरगञ्जको नगवास्थित बाबा होटलमा सञ्चालन गरेको कोभिड उपचार केन्द्रमा उपचारका क्रममा सोमबार साँझ ती महिलाको मृत्यु भएको हो ।

ढाड दुख्ने र श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई उपचारका लागि आइतबार बेलुकी नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा कोरोनाको आशंकामा स्वाब संकलन गरी जिन एक्स्पर्ट विधिबाट पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमण पुष्टि भएपछि ती महिलालाई आइतबार राति नै बाबा होटलमा सञ्चालित कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । आइसीयुमा राखेर उपचार गर्ने क्रममै उनको सोमबार साँझ साढे ५ बजे मृत्यु भएको हो ।

योसँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित : मंसिर २, २०७७

प्रतिक्रिया दिनुहोस्