कलेज मालिकहरु भन्छन् : नेपालको शिक्षा विश्वकै सस्तो 



काठमाडौं : उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले भर्ना अभियान प्रभावकारी बनाउन सरकार, विद्यालय सञ्चालक र अभिभावक लाग्नुपर्ने बताएका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सिलवालले विद्यालय भर्ना अभियान धेरै वर्षदेखि चलिरहेकोले यसलाई मौसमी अभियान बनाउन नहुने स्पष्ट पारे । उनले भने,‘यसबारेमा राज्यले खासगरी स्थानीय निकायले धेरै ध्यान दिनुपर्छ ।’ 

सिलवालले भर्ना अभियान प्रभावकारी बनाउन विद्यालयहरुले विद्यार्थीलाई आकर्षण गर्न सक्नुपर्नेमा पनि जोड दिए । नयाँ शिक्षा ऐनमा पनि केही कमजोरी भएकोले सुधार गर्न जरुरी रहेको सिलवालले बताए । 

सिलवालले साक्षरता अभियानलाई पनि खाली अक्षर र अंक चिन्ने खालको मात्रै बनाउन नहुने स्पष्ट पारे । उनले थपे,‘अक्षर र अंक मात्रै चिन्नु साक्षरता होइन । पढाई र सिपको माध्यमले जीवनयापन गर्न सक्ने बनाउनुपर्छ । अब साक्षरताको परिभाषा बदल्नुपर्छ ।’ सिलवालले गुणस्तरीय शिक्षामा बढि जोड दिनुपर्ने सुझाए । 

महानगरपालिकाले शिक्षालाई प्राथमिकतामा नराखेको उनको गुनासो छ । उनले भने,‘साँच्चै शिक्षामा सुधार गर्ने हो भने सरोकारवाला पक्ष एक ठाउँमा भेला भएर बहस गरौं । छलफल गरौं । के गर्दा शिक्षा क्षेत्रमा राम्रो गर्न सकिन्छ, त्यही गरौं ।’ उनले बढि शुल्क लिने विद्यालयहरुलाई अनुगमन गरेर कारबाही गर्नुपर्ने बताए । तर, यसको नाममा कसैले पनि खेती गर्ने काम गर्न नहुने उनको भनाई छ । 

शिक्षा नि:शुल्क भनिए पनि स्थानीय निकायले अहिले त्यो भार बोक्ने क्षमता नै नराख्ने उनको भनार्य छ । उनले भने,‘देशकै ठूलो काठमाडौं महानगरपालिका नै यो भार बोक्ने क्षमता राख्दैन । अरु, स्थानीय निकायको के कुरा गर्ने ?’ उनले शिक्षा नि:शुल्क भनिए पनि ९९.९ प्रतिशत सरकारी विद्यालयले शुल्क उठाइरहेको दाबी गरे । 

उनले निजी विद्यालय सञ्चालकहरुले छुद्र व्यवहार गर्न नहुने तर्क गरे । उनले भने,‘किताब, युनिफर्मको नाममा हामीले छुद्र व्यवहार गर्नुहुँदैन ।’ उनले विश्वव्यापी शिक्षाको अवस्था बुझ्दाखेरि नेपालको शिक्षा सस्तो रहेको दाबी गरे । 

आफूले सञ्चालन गरेको शैक्षिक संस्थाबारे उल्लेख गर्दै उनले ५–७ प्रतिशत शुल्क बढाउँदा कर्मचारीको तलबमा खासगरी शिक्षकहरुको तलब १० देखि १५ प्रतिशतसम्म वृद्धि गरेको दाबी गरे । शिक्षाको नाममा कसैले पनि व्यापार गर्न नहुने उनको तर्क छ । ‘कष्ट रिकभगरी प्रिन्सिपल’मा जानुपर्ने उनको जोड छ । उनले भने, ‘कुन शीर्षकमा कति पैसा लिईएको छ, त्योअनुसार काम भएको छ कि छैन ? त्यो सबै अभिभावकले हेर्नुपर्छ ।’

कतिपयले निजी विद्यालयले अभिभावकलाई लुटिरहेको भन्ने आरोप लगाएको सुनाउँदै उनले प्रश्न गरे,‘लुटेराको स्कुलमा विद्यार्थी नपढाऔं । तपाइँहरु लुटेर भन्नुहुन्छ अनि त्यही स्कुलमा लगेर विद्यार्थी भर्ना गर्न मरिहत्ते गर्नुहुन्छ ।’हालैको भेटवार्तामा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालका निजी विद्यालयकै कारण शिक्षा धानिएको अभिव्यक्ति दिएको दाबी गरे । 

उनले कतिपयले निजी विद्यालय बन्द गर्नुपर्ने तर्क गरिरहेकोमा आपत्ति जनाए । उनले भने,‘हामी नियमन मान्न तयार छौं । तर, बन्द गर्ने कुरा नगरौं । यसमा मेरो गम्भिर असहमति छ ।’ सरकारी विद्यालयहरुलाई गुणस्तरीय बनाउनुपर्नेमा उनको जोड छ । ७५३ वटै स्थानीय तहमा नमूना विद्यालय खोल्नुपर्ने पनि उनले धारणा राखे । उनले थपे,‘शिक्षालाई हामीले प्रतिष्पर्धात्मक बनाउनुपर्छ । उनले विद्यालय सञ्चालकहरुलाई बैंकको व्याजदर सस्तो गराए ‘कष्ट सेयरिङ’ घट्ने पनि स्पष्ट पारे । 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय भर्ना अभियान लामो समयदेखि चल्दै आए पनि अहिलेसम्म प्रभावकारी बनाउन नसकिएको आरोप लगाएका छन् । विद्यालय भर्ना भएकाहरुलाई टिकाउनको लागि पनि अभियान चलाउनुपर्ने उनको तर्क छ । 

सापकोटाले शिक्षालाई खण्डीकरण गर्न नहुने धारणा राखेका छन् । उनले भने,‘शिक्षालय निजी वा सार्वजनिक हुनसक्छन् । तर, शिक्षा निजी हुँदैन् । त्यसैले शिक्षालाई खण्डीकरण नगरौं ।’ शिक्षाको सिकाई उपलब्धिमूलक छ कि छैन् ? भन्नेतर्फ आजको बहस हुनुपर्नेपनि उनले जोड दिए । 

आफूहरुले मनोमानी शुल्क नलिएको पनि उनको दाबी छ । सापकोटाले स्थानीय निकायले तोकेको मापदण्डभित्र रहेर भर्ना शुल्क लिइएको दावी गरेका हुन् । वैज्ञानिक ढंगले निर्धारण गरिएको शुल्कलाई लागु गरिएको सापकोटाले बताए । नियमअनुसार १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति पनि हरेक विद्यालयले दिएको सापकोटाले बताए । 

विद्यालय शुल्कको वैज्ञानिक आधार तय गर्नुपर्ने उनको जोड छ । उनले भने,‘शुल्क प्रस्ताव गर्दा एकरुपता कायम गर्नुपर्छ । राज्य संयन्त्र सजग हुनुपर्छ । विद्यालयले विभिन्न शीर्षमा उठाएका रकमहरु खर्च गर्न सकेका छन् कि छैनन् भन्ने अनुगमन गर्नुपर्छ ।’’

त्यस्तै उनले शैक्षिक क्यालेण्डर पनि अव्यवहारिक भएको गुनासो पोखे । उनले भने,‘बैशाखमा भर्ना गर्ने अभियानले विद्यार्थीहरुलाई लामो समय बाहिर राख्छ । त्यसैले पहिल्यैकै अभियान ठिक थियो ।’

प्रतिक्रिया दिनुहोस्