तयार भयो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे 



पोखरा : पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तयार भएको छ। पर्यटकीय राजधानी पोखराको बहुप्रतिक्षित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे चिनियाँ कम्पनीले तयार पारेको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का इन्जिनियर मीनराज ओझाले रनवे निर्माणको काम पुरा भएको बताएका छन् । उनका अनुसार दुई हजार पाँच सय मिटरको यो रनवेको चौडाइ ६० मिटर लामो छ । २०७५ माघदेखि निर्माण थालिएको रनवेमा अब रङ लगाउन मात्रै बाँकी छ । 

यो विमानस्थल सन् २०२१ जुलाईमा बनाइसक्ने समयसीमा छ । तर सन् २०२० डिसेम्बरमै निर्माण सक्ने गरी विमानस्थल निर्माणको काम तीब्र पारिएको छ । पोखरा निवासी तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको पहलमा यो विमानस्थल निर्माण तीब्र गतिमा अघि बढाइएको थियो । 

हालसम्म यो आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत छ । यो आयोजनाका लागि चीन सरकारले ऋण सहयोग गरेको छ । यो विमानस्थल निर्माण लागत २२ अर्ब रुपैयाँ छ ।

ठूला तीन र साना आठ जहाज अट्ने यो विमानस्थलमा १४ भवन बन्दैछन् । यिनमा ५ भवनको आरसीसीको काम भइसकेको छ । अन्य भवनको पूर्वाधार धमाधम निर्माण भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्