आजदेखि तराई–मधेशमा उत्साहका साथ छठ पर्व शुरु



काठमाडौं : धार्मिक एवं लोकआस्थाको पर्व छठको तराई–मधेसमा उत्साहका साथ आजबाट शुरु भएको छ । छठपर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिन्छ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन आज व्रतालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत सङ्कल्प गर्दछन् । यसलाई मिथिला क्षेत्रमा ‘नहाय–खाय’ पनि भनिन्छ ।

त्यसैगरी दोस्रो दिन भोलि पञ्चमी तिथिका दिन व्रतालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिर प्रसाद स्वरुप खाने गर्छन् । यसलाई ‘खरना’ भनिन्छ ।

पर्वको मुख्य दिन षष्टी तिथिका दिन व्रतालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यलाई अर्घ्य दिन्छन् । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

यसपालि कोभिड–१९ सङ्क्रमणका कारण व्रतालुले घरआँगनमै विधि सम्पन्न गर्ने तयारी गरेका छन् । छठको तयारीका क्रममा मिथिला क्षेत्रमा चहलपहल बढेको छ ।

प्रकाशित : मंसिर ३, २०७७

प्रतिक्रिया दिनुहोस्