स्थानीय प्रशासनको अवरोधकाबीच छठ पूजाको तयारी



बीरगञ्ज : विशेष नियम र निष्ठापूर्वक आराध्यदेव सूर्यको आराधना गरी मनाइने तराईवासीको महान छठ पर्व आजदेखि विधिवत शुरु भएको छ ।

तराईको साँझा सास्कृतिको पहिचानको रुपमा मनाईने छठ पर्व कात्तिक शुक्ल चर्तुथीदेखि शुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाईने गरिन्छ । तर कोरोना महामारीले गर्दा यसबर्षको छठ पूजा भव्य रुपमा मनाउन स्थानीय प्रशासनले रोक नै लगाएको छ । खास गरी वीरगन्ज महानगरपालिका क्षेत्रमा छठपर्व पूर्ण रुपमा प्रभावित नै बन्न पुगेको छ ।

कोरोना संक्रमण फैलिन नदिनका लागि महानगरपालिका क्षेत्रमा रहेको नदी, ताल तलाव, पोखरीमा सजाउने काम स्थानीय प्रशासनले रोक लगाएको छ । छठ घाटमा हुने भिडलाई नियन्त्रण गर्न सजावट, पन्डाल, साउण्ड, सांस्कृतिक कार्यक्रममा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।

छठ राष्ट्रिय पर्वको रुपमा रहेकोले यसलाई रोक्न नमिल्ने बताउँदै प्रमुख जिल्ला अधिकारी तामाङले कोभिड नियन्त्रणको लागि छठ घाटका व्यवस्थापन समिति, राजनीतिक दल, सुरक्षाकर्मीहरुको समन्वयमा थप व्यवस्थापन गर्दै भिडभाड हुन नदिनको लागि विभिन्न सुरक्षाका उपायहरु अपनाइएको बताए ।

वीरगन्जको मुटु मानिने घडिअर्वा पोखरीमा भव्य रुपमा छठ पर्व मनाउने गरिन्थ्यो । घडिअर्वा पोखरीको छठ पूजा हेर्न देश विदेशबाट भक्तजनहरु आउने गर्थे तर यस बर्ष कोरोना महामारीका कारण पूर्ण रुपमा प्रभावित नै बनेको छ ।

स्थानीय प्रशासनका कारण घडिअर्वा पोखरीमा हुने गरिएको छठ पर्व यसवर्ष प्रभावित नै बनेको वीरगन्ज वडा नम्बर १० का वडा अध्यक्ष एवं घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामनगिना साह कानुले बताए ।

छठ पर्व हिन्दुहरुको आस्थाको केन्द्र हो कसैले रोकेर रुकदैन तर कोरोनाको महामारीलाई मध्यनजर गरेर भिडभाड नहुने गरी छठ पर्व सफल बनाउने तयारी गरेको उनले बताए । उनले भने, विगतमा जुन किसिमको लाखौ रुपैया खर्च गरेर सजावट गर्ने गरिन्थ्यो त्यो यस बर्ष गरिएको छैन, समान्य खर्चमा मात्र छठ घाटलाई व्यवस्थापन गर्न तर्फ लागेका छौ ।

घडिअर्वा पोखरीमा मात्र नभई वीरगन्ज महानगरपालिकाको २६ स्थानमा छठ पूजा गर्न व्यवस्थापन गरिएको छ । तर सबभन्दा भिडभाड हुने घडिअर्वा पोखरी, वीरगन्जको नगवा, रानीघाट र मुर्ली पोखरी हो । यी चार छठ घाटमा छठ बर्त लिएका ब्रतालु बाहेक अन्यलाई निषेध गर्ने नीति अपनाईएको प्रजिअ तामाङले बताए । स्वास्थ्य सुरक्षा अपनाउन अपिल गर्दै उनले भने, एेतिहासिक र मुख्य चाड भएकोले यसलाई निरन्तरता दिदै छठ पर्व मनाउनुपर्छ ।

अडिअर्वा पोखरी पछि दोस्रो स्थापनमा रहेको वीरगन्जको नगवा छठघाट पनि स्थानीय प्रशासनको कारण प्रभावित बन्न पुगेको छ । छठघाटमा रोलेक्स, झिलिमिलि बत्ती बाहेक अन्य सजावट गर्ने काम गरिएको छैन । पार्टी प्रवेश गर्न भिडभाड गर्न मिल्ने, कर उठाउने ठाउँमा पनि भिडभाड गर्दा कोरोना नसर्ने, घरदैलो कार्यक्रममा कोरोना नसर्ने अनि पूजा पाठ गर्दा कोरोना सर्ने, नगवा छठघाट व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार महतोले छठ पूजामा कुनै प्रकारको अवरोध गर्न खोजिए त्यसको प्रतिकारमा उत्रिने चेतावनी दिए ।

समाजिक दुरी कायम गरी छठ पर्व मनाउने तयारी गरिरहेको नगवाका स्थानीय अगुवा अशोक पटेलले बताए । उनले भने, स्थानीय भद्रभलादमी, राजनीतिक अगुवा, छठ पूजा समितिको सहभागिता भिडभाड नहुने गरी व्यवस्थित रुपमा छठपर्व मनाउने तयारी गरिएको हो । स्थानीय प्रशासनले छठ पर्व मनाउन अवरोध गरे पनि हिन्दुहरुको आस्थाको केन्द्र रहेको र जीवनदायी शाब्दी सूर्यदेवता छठीमाताको आराधना गर्दै यो पर्व मनाउने गरिन्छ । छठका दिन ब्रत बस्नेले आफैंले प्रसादका रुपमा बनाएका ठेकुवा, भुसवा, कसार लगायतका मिष्ठान्नहरु तयार पारी नदी, तलाउ वा जलाशयमा नुहाएर अस्ताउ“दो सूर्यलाई पूजा गरी पहिलो अर्घ दिईन्छ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिन साँझ छठ घाटहरुमा श्रद्धालु भक्तजनहरुको ठूलो भिड लाग्ने गरेको छ । सूर्यको उपासना र पूजा गर्नाले चर्मरोग नलाग्ने, सन्तान प्राप्तिका साथै सुख, समृद्धि हुने धामिर्क विश्वास रहिआएको छ । सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा समेत लिने यस पर्वले सामाजिक, धार्मिक सद्भावलाई समेत बचाएर राखेको छ ।

प्रतिक्रिया दिनुहोस्