विपदमा सबै एक भएर लाग्नुपर्छ : उपसभापति निधी



बारा : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले विपत्तिका बेला दल र सरकारको मुख ताक्नुभन्दा सबै क्षेत्रका मानिसले सहयोग गर्नुपर्ने बताएका छन्।

चैत १७ गते बारा र पर्सामा आएको विनासकारी हावाहुरी प्रभावितलाई सहयोग गर्न बाराको सिमरामा आयोजित कार्यक्रममा नेता निधीले सरकार भनेको पार्टीको प्रतिनिधित्व र राज्य भनेको सरकार र प्रतिपक्ष दुवै भएको बताए।

बारा, पर्सामा आएको हुरीबाट पीडित भएकालाई सबैले मिलेर सहयोग गनुपर्ने उनको भनाई थियो। हावाहुरीले क्षति गरेको भौतिक संरचनाको पुर्नर्निर्माणमा संघीय र प्रदेश सरकारबीच मतभेद देखिएको उनले बताए।

हावाहुरीमा क्षति भएको भौतिक संरचनाको पुर्नर्निर्मा गर्न प्रदेश सरकार इच्छुक रहेका बेलामा संघीय सरकारले नेपाली सेनालाई जिम्मा दिएकोप्रति प्रदेश सरकार असन्तुष्ट बनेको निधिको बुझाइ थियो। 

यसैबीच बाराका हावाहुरी पीडितलाई सहयोग गर्न नेपाली कांग्रेसबाट प्राप्त ४१ लाख रकम कांग्रेस बारा सभापति जयचन्द चौरसियाको जिम्मा लगाइएको छ।

कांग्रेसको केन्द्रीय कार्यालयबाट प्राप्त २५ लाख, महेन्द्रनारायण निधी प्रतिष्ठानको तर्फबाट दुई लाख, सांसद तथा नगर प्रतिनिधि र सभापतिबाट गरी कुल ४१ लाख रुपैयाँ संकलित रकम पुर्नर्निर्माका लागि प्रदेश राहत कोषमा जम्मा गरिने कांग्रेस बारा सभापति जयचन्द्र चौरसियाले बताए।

प्रतिक्रिया दिनुहोस्