प्रहरी हत्याकाण्डः अभियुक्तलाई हदैसम्म कारबाही गर्न प्रहरीको माग



कैलाली : धनगढीमा २ जना प्रहरीको हत्या आरोपमा पक्राउ परेका मटर व्यापारीसहितका अभियुक्तलाई हदैसम्म कारबाही गर्न प्रहरीले माग गरेको छ ।

अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदको हत्यामा संलग्न भएकाहरुलाई हदैसम्मको कारबाही गर्न जिल्ला प्रहरी कार्यालय कैलालीले सरकारी वकिललाई रायसमेत दिएको छ ।

हत्याकाण्डको अनुसन्धान प्रतिवेदन बुझाउँदै कैलाली प्रहरीले हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जना अभियुक्त, मटर व्यापारी र अनुसन्धानका क्रममा पछि खुल्दै जानेलाई कानुन बमोजिम हदैसम्म कारबाहीको मागसहित उक्त राय दिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै संलग्नलाई हदैसम्मको कारबाही गर्न राय दिएको जानकारी दिए ।

उनका अनुसार यसअघि नै अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई पेस गरिएको भएपनि एक जना अभियुक्तलाई कोरोना भाइरसको संक्रमण देखिएपछि अदालतीय प्रक्रिया भने पछाडि धकेलिएको छ ।

अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको भन्दै प्रहरी निरीक्षक थापाले बीचमा परेको सार्वजनिक बिदा र अभियुक्तलाई कोरोना देखिएपछि अदालतमा पेस गर्न नसकेको बताए । ती अभियुक्तको कोरोना ‘रिपोर्ट नेगेटिभ’ आउनेबित्तिकै अदालतमा पेस गर्ने उनले बताए । गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक विक र प्रहरी जवान साउँदको हत्या गरिएको थियो ।

विभत्स हत्या गरेको अवस्थामा उनीहरु दुवै जनाको शव मोहना नदीमा फेला परेको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले जुगेडाकै ७ जनालाई पक्राउ गरेको छ भने हत्याका नाइके भनिएका एक जना अझै फरार छन् । मटर तस्करीमा अवरोध गरेपछि प्रहरीको हत्या गरेको अभियुक्तको बयानका आधारमा धनगढीकै व्यापारी राजीव गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित :३ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्