आठौं राष्ट्रिय खेलकुद : पुरुष हक्कीमा आर्मीलाई स्वर्ण



काठमाडौं : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीमा नेपाल आर्मी च्याम्पियन बनेको छ। नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको फाइनलमा आर्मीले प्रहरीलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित गर्यो।

आर्मीका लागि नरेन्द्र अधिकारी, प्रदीप राजवंशी, अमितकुमार श्रीवास्तव र दीपेन्द्र ऐरले गोल गरे। प्रहरीका केशवराज जोशीले मात्र गोल गर्न सफल भए।निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा गरिएको थियो।

११ औं मिनेटमा प्रदीप राजवंशीले आर्मीलाई अग्रता दिलाएका थिए। ४५ औं मिनेटमा रोमन रानाले बराबरी गोल फर्काए। रोमनले प्रतियोगिताभर १५ गोल गरे।

प्रदेश ५ ले प्रदेश ७ लाई ३–० गोलले हराउँदै तेश्रो भयो  मनीष गुरुङ, शशि दर्लामी र रविकान्त कुमारले गोल गरे। प्रतियोगितामा ९ टिम सहभागी थिए। महिला स्पर्धाको उपाधिका लागि प्रदेश ७ र गण्डकी प्रदेश भिड्ने भएका छन्।

प्रदेश ७ ले प्रदेश २ लाई ५–१ गोलले पराजित गर्दै फाईनल यात्रा तय गर्यो। विजेता टिमका लागि अन्जु गुरुङ र अनिता श्रेष्ठले २–२ तथा दमरा भट्टले १ गोल गरे। प्रदेश २ बाट मधुकुमारीले सान्त्वना गोल फर्काइन्। अर्को सेमिफाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले हरायो। गण्डकीका लागि देविका विकले निर्णायक गोल गरिन्। फाइनल खेल बिहीबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्