
काठमाडौं : संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाका समितिहरूमा सांसदको उपस्थिति कम हुन थालेपछि समितिले कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ । बिनाजानकारी समिति बैठकमा अनुपस्थित हुने सांसदलाई कारबाही गरी समितिबाट हटाउन सक्ने व्यवस्थाअनुसार कारबाहीको तयारी भएको हो ।
संसद्को महत्वपूर्ण काम गर्ने दायित्व पाएका समितिहरूमा कोरम नपुग्दा बैठक नै बस्न कठिन हुने गरेका घटना धेरै भएका छन् । बैठकमा जानकारीबिना निरन्तर पाँचपटकसम्म अनुपस्थित हुने समिति सदस्य एवं सांसदलाई सभापतिले कारबाहीका लागि प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रिय सभाको अध्यक्षसमक्ष सिफारिस गर्न सक्ने व्यवस्था छ ।
सांसदहरू नियमित रूपमा बैठकमा सहभागी नभए समितिबाट हटाउन सिफारिस गर्न सक्ने अधिकार समिति सभापतिलाई छ । प्रतिनिधिसभा विकास समिति सभापति कल्याणी खड्काका अनुसार उनले नेतृत्व गरेको समितिमा शीर्ष नेताहरू नै सबैभन्दा बढी अनुपस्थित हुने गरेका छन् ।
शीर्ष नेताहरूलाई बैठकमा नियमित उपस्थित हुने व्यवस्था मिलाउन समिति सभापतिहरूले पटकपटक संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकमार्फत आग्रह गर्दै आएका छन् । खड्का सभापति रहेको विकास तथा प्राविधिक समितिमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छन् । उनी अहिले सम्म एक पटक पनि समितिमा उपस्थित भएका छैन् ।
‘एकपटक सबै पार्टीका शीर्ष नेताहरूलाई राखेर ‘संसदीय समितिको महत्व नबुझेको कि महत्व नदिएको ? भनेर सोध्नैपर्ने भएको छ,’ उनले भनिन्, ‘यदि यसो गर्दा पनि उहाँहरू बैठकमा आउनुभएन भने नियमावलीअनुसार कारबाहीको सिफारिस गर्नुको विकल्प छैन ।’ याे समाचार आजकाे राजधानी दैनिकमा छ ।