आठ महिनापछि लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल शुरु



बुटवल : कोरोना जोखिमका कारण विगत आठ महिनादेखि बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी बुधबारबाट खुलेको छ ।

सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै सात महिना २३ दिनसम्म बन्द रहेको लुम्बिनी क्षेत्र बुधबारबाट खुलेको हो ।

पर्यटकका लागि खुला गरिएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । अब पर्यटकहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर, अशोक स्तम्भ, पुष्करिणी पोखरी, बगैँचा र विभिन्न देशका बिहारहरु घुम्न पाउनेछन्

।लुम्बिनी खुला गरिएसँगै बुधबार साँझ लुम्बिनी होटेल संघको आयोजनामा होटेल व्यवसायीहरुले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरेका छन् ।

मायादेवी मन्दिरसँगै रहेको अशोक स्तम्भ परिसरमा स्थानीय होटेल व्यवसायी र अन्य इच्छुकले अब हरेक दिन ५ बजेदेखि ७ बजेसम्म दीप प्रज्ज्वलनलाई निरन्तरता दिने लुम्बिनी होटेल संघका महासचिव लिलामणि शर्मा पौडेलले बताए ।

मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नुअघि हरेक पर्यटकको तापक्रम मापन गरिने छ भने अनिवार्य रुपमा मास्क लगाउनुपर्ने लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत एवं प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए ।


महिलबारस्थित ५ नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदलमार्गमा रंगीन इँटा बिछ्याएर आकर्षक बनाइएको र मायादेवी मन्दिर परिसरमा घाँस, दुबो काटेर चिटिक्क बनाइएको राईले बताए ।

असोजदेखि मंसिरसम्मको तीन महिना लुम्बिनीमा आन्तरिक पर्यटक सबैभन्दा बढी आउने सिजन हो । यो अवधिमा एक महिनामा सरदर डेढ लाख पर्यटक आउने गरेको लुम्बिनी विकास कोषका सूचना शाखाका अधिकृत हरि राईले बताए । यो अवधिमा विगत वर्षमा प्रतिमहिना एक लाख बढी आन्तरिक पर्यटक लुम्बिनी घुम्न आउने गरेको तथ्यांक छ ।

प्रकाशित : मंसिर ४, २०७७

प्रतिक्रिया दिनुहोस्