कोरोनाको कहर, छठ पुजाको लागि चाहिने बाँस र माटोको समाग्रीको विक्रीमा कमि



पर्सा : तिहार समापनसंगै तराई मधेशमा विशेष रुपमा मनाईने छठ पुजाको चहलपहल शुरु भएको छ ।

श्रद्धा र भक्तीपूर्व चार दिन सम्म मनाईने तराईवासीहरुको महान पर्व छठ नजिकदै जाँदा वीरगंजको मुख्य बजारहरुमा छठपूजाको लागि किनेमेल गर्नेहरुको भिडभाड देखिएको छ ।

तर यसपाली दोमास र कोरोना महामारीका कारण छठका लागि चाहिने आवश्यक माटोको भाडा र बाँसले बनाएका सामाग्रीहरुको विक्रीमा गिरावट आएको छ । दोमास लागेको कारण गत वर्षभन्दा यस बर्षमा छठका लागि चाहिने माटो र बाँसका समाग्रीहरुको विक्री वितरणमा गिरावट आएको हो ।

बाँसले बनाईएको विभिन्न खाले समाग्रीको विक्री ७० प्रतिशतले घटेको व्यवसायी बताउँछन । घण्टाघर चोकमा बाँसको समान विक्री वितरण गरीरहेका बब्लु कुमार साहले कोरोना महामारीका कारण आम्दनीको श्रोत मरेका हुनाले कतिपयले छठ पर्व समेत गर्न नसकेका कारण यसको विक्रीमा गिरावट आएको बताए ।

छठकै लागि चाहिने नाङ्गलो ८० देखि १ सय ५०, सानो नाङ्गलो ५० रुपैया, सुपली २० देखि ३० रुपैया सम्म, छैठा ३ सय देखि ४ सय रुपैया सम्ममा मुल्य राखिएको छ । हुन त गत बर्ष भन्दा यस बर्ष बाँसबाट तयार पारिएको प्रत्येक समाग्रीको मुल्य बढाईएको छ । महंगीका कारण मुल्य बढेको व्यापारी साहले बताए ।

कोरोना महामारी संगै यो बर्ष दोमास रहेको हुनाले पनि किनमेलमा कमि आएको छ । दोमासमा पहिलो पटक छठ पर्व गर्न चाहनेले गर्न नमिल्ने र पुरानो व्यक्तिले छठ पर्व बसाउन नसकिने भएकोले छठको लागि आवश्यक समाग्रीहरुको विक्री वितरणमा कमी आएको हो ।

गत वर्षको छठपुजामा ४० देखि ५० हजार रुपैया आम्दनी गरेको भएपनि यस बर्ष १५ देखि २० हजार सम्म मात्र आम्दनी हुन सक्ने अनुमान व्यापारीहरुको छ ।

छठकै लागि भाडाबाट तयार पारिएको आवश्यक समाग्रीहरुमा समेत कोरोना महामारीका कारण विक्री वितरणमा कमी आएको छ । २ महिना पहिलादेखि नै छठ पर्वको लागि तयार पारिएको माटोको समाग्रीहरुको विक्रीमा यस वर्ष कमी आएको पर्सा सुर्जाहाका सुरेन्द्र कुम्हालले बताए ।

उनले ग्राहक नआएका कारण यस बर्षको सिजनमा २० प्रतिशत मात्र माटोको भाडा विक्री वितरण हुने अनुमान गरेका छन । ५० हजारको लगानीमा तयार पारेका समाग्री विक्री नहुदाँ लगानी समेत डुब्ने चिन्ता उनलाई सताएको छ ।

कोरोनाको कहर सुरेन्द्रको व्यवसायमा मात्र परेको छैन । पर्साको सबैठवाका अर्का माटोका भाडा विक्री गरीरहेका विदेशी कुम्हालको पनि उस्तै छ । करिब १ लाख ५० हजारको लगानीमा तयार परेको माटोको भाडा विक्री नहुँदा चिन्तामा परेका छन । विगत बर्षको मुल्य भन्दा कममा विक्री गर्दा समेत समान विक्री नभएको उनको गुनासो छ ।

गत बर्ष छठ पुजाको लागि चाहिने कोशीको मुल्य ५ सय भन्दा बढी थियो तर यस बर्ष २ सय ५० रुपैया राख्दा समेत कसैले किन्न आएका छैनन । कोशीमा हात्ती, कडा कुडेशर, ढकना, दियो, चौमुख र खपडी अनिवार्य रुपमा राखिने गरिन्छ ।

छठ पुजाको लागि अतिआवश्यक बाँस तथा माटोबाट तयार पारिएको विभिन्न समाग्रीहरु विक्री वितरण गर्न बारा, पर्सा, रौतहट, सर्लाही लगायतको जिल्लाबाट वीरगन्ज बजार आई विक्री वितरण गर्ने गरेका छन ।

प्रकाशित : ४ मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्