
गोरखा : गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन् – छन्, तर सहरमा। अथवा गुम्बामा। अथवा चर्चमा।
किनभने धर्मगुरुहरूले कसको घरमा बच्चा हुर्किंदै छ भन्ने पहिला अध्ययन गर्छन्। बच्चाको नाम टिप्छन्। अनि हुर्किएपछि उनीहरूलाई काठमाडौंका थानकोट, गागलफेदी, फर्पिङ, चोभार आदि स्थान अथवा भारतसम्मै पनि पुर्याउँछन्। गुम्बा र चर्चका एजेन्टले हुर्केका गाउँका बालबालिका सहर लगिदिएकैले चुमनुब्रीका विद्यालय धमाधम बन्द हुन थालेका छन्। विद्यार्थी नपाएपछि गाउँपालिकाका पाँच विद्यालय बन्द भएका छन्।
मनास्लु इन्द्रेणी प्रावि नाम्रुङ, पेमाथाङ प्रावि लोक्पा, छुलेनिले आधारभूत विद्यालय निले, जनज्योति प्रावि स्यो, क्वाक आधारभूत विद्यालय क्वाक र क्य्राक प्रावि क्य्राक बन्द भएको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ।
विद्यार्थीविहीन भएपछि बिहीस्थित गुम्बा हिमाली प्रावि बन्द भएको थियो। विद्यालय भवन भत्काएर त्यस ठाउँमा हेलिप्याड निर्माण भएको थियो। एक वर्षअघि फेरि प्रारम्भिक बालविकास (ईसीडी) कक्षा सञ्चालन गर्न थालिएको वडाध्यक्ष सोनाम ग्याल्जेनले बताए।
सातआठ वर्षमाथिका बालबालिका गाउँमा नरहेको साम्दोका वडा सदस्य निमा दोर्जे बताउँछन्। ‘छसात वर्ष लागेपछि सबै काठमाडौं जान्छन्’, उनले भने, ‘कोही काठमाडौंका गुम्बामा पढ्छन्, कोही अभिभावकले स्पोन्सर खोजेर लामाले चलाएको बोर्डिङमा पढाउँछन्।’
बालबालिका गाउँमा नरहनुमा सरकार बढी दोषी रहेको उनको भनाइ छ। ‘हाम्रोतिर त सरकार छैन’, उनी भन्छन्, ‘स्रोतव्यक्ति र विद्यालय निरीक्षकले बेलाबेला अनुगमन गर्ने, शिक्षक नभेटिए त्यसको कारण पत्ता लगाएर एकदुईपटक कारबाही गर्यो भने शिक्षक, विद्यार्थी नियमित हुन्थे।’ दुर्गममा सरकारको नजर नपुगेको उनको भनाइ छ। याे सम्बन्धी विस्तृत समाचारका लागि आजकाे अन्नपूर्ण पाेस्ट हेर्नुहाेला ।