घोडाघोडी तालमा आगन्तुक चराको आगमन, गुञ्जिना थाल्यो आवाज



धनगढी : कैलालीको घोडाघोडी तालमा पाहुना चरा आइपुगेका छन् । आगन्तुक चरा तालमा आएपछि उनीहरुको आवाज गुञ्जिना थालेको हो ।

उपयुक्त आहाराको खोजी र जाडो छल्नका लागि मङ्गोलिया, साइबेरिया, उत्तरी चीनबाट आगन्तुक जलपक्षी घोडाघोडी ताल क्षेत्रमा आइपुगेका हुन् । हिउँदमा कैयौं माइल उडेर आगन्तुक चरा घोडाघोडीमा आइपुग्ने गरेका छन् ।

पाहुना चराको चिरबिर, आवाजले अहिले विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालको रौनक बढेको छ । जलपंक्षीका लागि राम्रो बासस्थान मानिने घोडाघोडी तालमा हिउँदमा देखिने आगन्तुक चराको चहलपहल बढेको चराविज्ञ हिरुलाल डङ्गौराले बताए ।

उनले भने,‘बसाइँ सरेर आउने आगन्तुक चराको चहलपहल बढेको छ ।’ घोडाघोडीमा जाडो याममा बसाइँ सरेर २९ प्रजातिका पाहुना चरा आउने गरेका छन् । यो वर्ष अहिलेसम्म कैलेटाउके हाँस, श्वेताँखीभौ, खड्खडे हाँस, मरुल, ठूलो जलेवा, लघु राजपुत्रिका, चञ्चले, सुड्सुडिया, रुख सुड्सुडिया, टिमटिमा, वन सुड्सुडिया, मसिनोठूँडे टिमटिमा आइपुगेका छन् । ‘जाडो याममा देखिने पाहुना चराहरु धेरै आइसके’, चराविज्ञ डङ्गौराले भने । ‘अझै आउनेक्रम जारी नै छ ।’

सुदूरपश्चिम प्रदेशकै गहनाको रुपमा रहेको घोडाघोडी तालमा ६४ प्रजातिको जलपक्षी पाइने गरेका छन् । जसमध्ये केहि रैथाने हुन् भने जाडो सिजनमा बसाइँ सरेर आउने चराहरु विभिन्न देशबाट आएका हुन् । बसाइँ सरेर आएकामध्ये कैलेटाउके हाँस विश्वमै लोपोन्मुख रहेको प्रजातिको चरा हो ।

‘यो बेला मङ्गोलिया, साइबेरिया र उत्तरी चीनमा अत्यधिक जाडो हुन्छ’, चरा विज्ञ डङ्गौरा भन्छन्-‘त्यहाँ अत्यधिक जाडो शुरु भएपछि त्यहाँका चरा उपयुक्त बासस्थान र आहारा खोज्दै कैलालीको घोडाघोडी सिमसारसम्म आइपुग्ने गर्दछन् ।’ यहाँ आएका आगन्तुक जलपंक्षी फागुन मसान्त (मार्च पहिलो दोस्रो साता) सम्म रहने गरेका छन् । गर्मी बढ्न थालेपछि आगन्तुक चराहरु फेरि उतै फर्किने गरेका छन् ।

हिउँदे आगन्तुक चराको चहलपहल, पानीमा खेलेको दृश्यले घोडाघोडी ताल अवलोकन गर्नेहरुलाई मन्त्रमुग्ध बनाउने गर्दछ । घोडाघोडी सिमसार क्षेत्रमा ३४२ प्रजातिको चरा पाईन्छन् । यहाँ चराहरुको अवस्था सुधारोन्मुख रहेको डङ्गौराले बताए । ‘नयाँ–नयाँ प्रजाति थपिदैं गएका छन्’–उनले भने ।

घोडाघोडी सिमसार जल र स्थल चराको लागि अत्यन्त उपयुक्त ठाउँ मानिदैं आए पनि प्राकृतिक बासस्थानको विनाशले चुनौती थपिएको छ । जलपंक्षीका बासस्थानमा गड्बडी आएको छ भने स्थल पंक्षीको बासस्थान विनाश भइरहेको छ ।

सिमसार क्षेत्रमा मिचाहा प्रजाति बढेर चराको बासस्थान नै फरक भएको छ । मिचाहा प्रजातिका झारका कारण चराहरु खेल्नका लागि खुल्ला ठाउँ कम हुँदै गएको डङ्गौराले बताए ।

यसैगरी, चोरी सिकार, जथाभावी माछा मार्ने, सिमसारमा मानवीय गतिविधि बढ्दै जाने लगायतका कारणले चरालाई चुनौती थपिएको छ । बासस्थानको गडबडीका कारण जलपंक्षीको संख्यामा घटबढ हुने गरेको छ ।

प्रकाशित : ४ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्