‘फल्स चेम्बर’ बनाएर पेट्रोल चोरी



काठमाडौँ : इन्धन ढुवानी गर्ने ट्यांकर चालकले नयाँ जुक्ति निकालेर पेट्रोल चोरी गरिरहेको फेला परेको छ । इन्डियन आयल कर्पोरेसनको बरौनी रिफाइनरीबाट पेट्रोल आयात गरिरहेका ना७ख ३६९६ र ना७ख २९९५ का ट्यांकरमा फल्स चेम्बर (पार्टिसन) बनाई पेट्रोल चोरी गरेको भेटिएको हो ।

एक महिनायता चालकका गतिविधि शंकास्पद देखिएको नेपाल आयल निगमको वाग्मती प्रादेशिक कार्यालय थानकोट डिपो प्रमुख प्रदीप यादवले बताए ।

‘बरौनीबाट आयातित इन्धन निगमको डिपोमा झार्नुपर्छ । एक महिनायता केही नोक्सान देखिएपछि दुई वटा ट्यांकरमा शंका लागेको थियो,’ उनले भने, ‘नोक्सान देखिएपछि शंकास्पदलाई छानबिन गर्दा चोरी गरेको देखियो ।’ यादवका अनुसार बरौनीबाट करिब दुई सय ट्यांकरले पेट्रोल ढुवानी गर्दै आएका छन् । एउटा ट्यांकरले एक महिनामा चार ट्रिप गर्छन् । दुई वटा ट्यांकरबाट करिब आठ हजार लिटर चोरीको आशंका रहेको उनले बताए ।

दुई ट्यांकर शंकाको घेरामा परेपछि बिहीबार नै केन्द्रीय कार्यालयबाट निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल, गुणस्तर तथा नापतौल विभागका महानिर्देशक बिश्वबाबु पुडासैनीसहितका प्राविधिक कर्मचारी ट्यांकरको परीक्षण गर्न थानकोट पुगेका थिए । सोही क्रममा दुवै ट्यांकरमा पार्टिसन गरेको भेटिएको थियो ।

सामान्यतया ट्यांकरमा २० हजार लिटर इन्धन अट्ने विभागका महानिर्देशक पुडासैनीले बताए । त्यसमा चार हजार लिटरका दरले पाँच वटा चेम्बर हुन्छन् । ‘ना७ख ३६९६ र ना७ख २९९५ मा तेस्रो नम्बरको चेम्बरमा दुई भाग लगाइएको छ । एकतिरको भागमा करिब १ हजार लिटर इन्धन अट्ने देखिन्छ । निगमले डिप हेरेर इन्धन झिक्ने हो, चेम्बर पार्टिसन गर्दा डिपमा फरक पर्दैन,’ उनले भने, ‘त्यसको मतलव बाटोमा तेल झिक्ने काम हुँदो रहेछ भन्ने भयो । यो एकदमै ठूलो बदमासी हो ।’

एउटै ट्यांकरमा अनुमानित नौ सयदेखि एक हजार लिटरको फल्स चेम्बर पाइएको उनले जानकारी दिए । ‘प्रत्येक ट्रिपमा एक हजार लिटर तेल चोरी गर्ने व्यवस्था मिलाइएको रहेछ । यो क्रम कहिलेदेखि भयो, बयानमा जानकारी होला,’ पुडासैनीले भने, ‘लकिङ लगाए पनि अर्थहीन भएको पुष्टि भयो । यस्तो बदमासी अरू ट्यांकरमा पनि हुन सक्छ ।’

२०/२० हजार लिटर क्षमताका ती ट्यांर वीर बेताल आशीर्वाद कम्पनीका रहेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । उक्त कम्पनीका सञ्चालक प्रज्वलराज भट्ट, दीपेन्द्रबहादुर बम र सदेन व्यञ्जनकार हुन् । इन्धन चोरी गर्ने ट्यांकरलाई कडा कारबाही हुने निगमका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । यस विषयमा गुणस्तर तथा नापतौल विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पनि पत्र पठाइएको उनले बताए । ‘निगमले कारबाही गर्छ, अन्य निकायलाई पनि कारबाही गर्न पत्र पठाएका छौं,’ उनले भने । कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

प्रकाशित : मंसिर ५, २०७७

प्रतिक्रिया दिनुहोस्