
हुम्ला : जिल्लाको नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयका ३२ जना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लाभरका शैक्षिक संस्था बन्द भएका छन् ।
विद्यालयको छात्रावासमा बस्ने विद्यार्थीको स्वाब परीक्षण गर्दा मंगलबार ३२ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाका अनुसार छात्रावासमा रहेका करिब एक सय जना विद्यार्थीको स्वाब परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएका अन्य विद्यार्थीलाई घर पठाइएको छ भने संक्रमितलाई छात्रावासकै आइसोलेसनमा राखिएको उनले बताए ।
उनका अनुसार अहिलेसम्म कसैलाई पनि गाह्रो हुने गरी लक्षण देखिएको छैन ।
संक्रमित छात्रछात्रा १२ देखि १८ वर्षसम्मका छन् । जिल्लाको एकमात्र आवासीय विद्यालय महाबौद्धमा चालु शैक्षिक सत्रमा ३ सय ४ जना विद्यार्थी भर्ना भएका छन् । यालबाङबाहिरका गाउँ र अन्य स्थानीय तहका विद्यार्थीसमेत महाबौद्धमा अध्ययनका लागि जाने गर्छन् ।
करिब दुई महिनाअघि महाबौद्धले बाहिरबाट आएका विद्यार्थी र शिक्षकको पीसीआर परीक्षण गरी पठनपाठन शुरु गरेको थियो । कक्षाकोठामा मास्क अनिवार्य गरिएको थियो । तर, अहिले छात्रावासमै कोरोना संक्रमण देखिएपछि पठनपाठन बन्द गर्नुपरेको निमित्त प्रअ थापाले बताए ।
कोरोना संक्रमण बढे पनि महाबौद्धमा १२ कक्षाको परीक्षा नरोकिने निमित्त प्रअ थापाको भनाइ छ । मंगलबार शुरु हुने परीक्षामा १२ जना परीक्षार्थी छन् । ती विद्यार्थीका साथै परीक्षा केन्द्रका कर्मचारीको पीसीआर परीक्षण गरी उच्च सावधानी अपनाइने केन्द्राध्यक्षसमेत रहेका थापाले जानकारी दिए । कक्षा ११ को परीक्षा भने सोमबार सकिएको छ जसमा ६ जना परीक्षार्थी थिए । नाम्खामा महाबौद्धका विद्यार्थीका साथै स्थानीय कोमजोम गुम्बाका २२ जना भिक्षु र अन्य २ जना गरी ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रले बिहीबारदेखि जिल्लाभरिका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । लामो समयको लकडाउनपछि हुम्लाका महाबौद्ध र लिमीका दुइटाबाहेक अन्य विद्यालय कात्तिक दोस्रो साताबाट खुलेका थिए ।
प्रकाशित : मंसिर ५, २०७७