जोर्जिआको पुनः मतगणनामा बाइडन नै विजयी, ट्रम्पको चुनौती तीन राज्यमा समाप्त



अमेरिका : अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडन जोर्जिआ राज्यमा भएको पुन: मतगणनामा पनि विजयी भएका छन् । योसँगै राष्ट्रपति डोनल्ड ट्रम्पको कानुनी चुनौती तीन राज्यमा समाप्त भएको छ । जोर्जिआमा बाइडनले ट्रम्पलाई १२,२८४ मतले हराएका हुन् ।

बाइडनले ट्रम्पले नजित्ने कुरामा आफू ढुक्क भएको र राष्ट्रपतिले ‘अतुलनीय गैरजिम्मेवारीपन’ देखाएको बताए । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा बाइडनले ५९ लाखभन्दा बढी मत प्राप्त गरेका छन् र उनले ३०६ देखि ३२२ इलेक्टलर कलेज मत जित्ने अनुमान गरिएको छ ।

जोर्जिआमा के भयो?

बिहीवार जोर्जिआका मन्त्री ब्राड राफेनस्पेर्गरले हातैले गरिएको पुन: मतगणनाले नतिजा परिवर्तन नगरेको बताए । “जोर्जिआमा भएको पहिलो ऐतिहासिक राज्यभर गरिएको पुन: मतगणनाले यहाँको नयाँ सुरक्षित मतदान प्रणालीमार्फत आएका मतको सहि गणना भएको प्रमाणित भएको छ,” उनले बताए ।

बीबीसीका अनुसार पुन: मतगणनामा कुनै पनि काउन्टीमा मतगणनामा गल्ती ०.७३ प्रतिशतभन्दा बढी नरहेको र बाइडनले कुल मतमा ट्रम्पलाई ०.५ प्रतिशतभन्दा कम मतले हराएको नतिजाको पुनर्पुष्टि भएको छ । यो नतिजा शुक्रवार प्रमाणित गरिने बताइएको छ ।

जोर्जिआमा रिपब्लिकनका तर्फबाट मतदान प्रणालीमा प्रतिनिधित्व गरेकी ग्राबियल स्टेरलिङले सीएनएनसँग कुरा गर्दै जोर्जिआमा मतदान मेशिनले कुनै गडबड नगरेको प्रमाणित भएको बताइन् ।

उनले ६,००० गणना नभएको मत पाइएको जुन गणना गर्दा मतान्तर कम भएको बताउँदै ती मानवीय त्रुटिका कारण नगनिएका बताइन् । फ्लोयड काउन्टीले निर्वाचन प्रबन्धकलाई ती मतगणना नभएका विषयका कारण बर्खास्त गरेको छ ।

ट्रम्पको कानुनी चुनौतीको अवस्था

बिहीवारसम्म ट्रम्पको कानुनी चुनौती जोर्जिआ, एरिजोना र पेन्सिल्भेनियामा समाप्त भएको छ ।जोर्जिआमा बाँकी रहेको अन्तिम कानुनी चुनौती बिहीवार अदालतले अस्वीकार गरिदिएको छ । सो चुनौतीमा नतिजा प्रमाणीकरणलाई रोक्ने प्रयास गरिएको थियो ।

मुद्दा खारेज गर्ने न्यायाधीश गत वर्ष ट्रम्पले नियुक्त गरेका हुन् । एरिजोनामा एक न्यायाधीशले त्यहाँको सबैभन्दा ठूलो काउन्टी मारीकोपामा पुन: मतगणना हुनुपर्ने माग खारेज गरिदिएका छन् ।

पेन्सिल्भेनियामा भने २,००० भन्दा बढी हुलाकबाट पठाइएका मत गणना नगराउन गरिएको प्रयास खारेज बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्