खाद्य पदार्थमा अनुगमन, कमाई खाने भाँडो



जनकपुरधाम : जनकपुरधाममा लगातारजस्तै बजार अनुगमन गरिए पनि मिसावटयुक्त खाद्य पदार्थ बेच्नेमाथि अहिलेसम्म कुनै कारवाही भएको छैन।

यसैक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीको नेतृत्वमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी, प्रहरी, नापतौल तथा गुणस्तर कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले बुधबार पनि बजार अनुगमन गरेको छ।

यहाँका प्रमुख होटल रघुपति मिष्ठान भण्डार, ओम बेकरिज एन्ड स्विट्स र हंसराज मिठाइ पसललगायत कैयौं मिठाइ पसलमा पटक पटक अनुगमन गर्दा अखाद्य पदार्थ, दूषित र अत्यधिक केमिकलयुक्त मिठाइ तथा खाद्य पदार्थ फेला परे पनि अहिलेसम्म कुनै कारवाही भएको छैन।

केमिकल मिसाइएका दूषित खाद्य पदार्थ

अनुगमनका क्रममा हंसराज मिठाइ पसल, ओम बेकरिज स्विटस र रघुपति मिष्ठान भण्डारको अखाद्य मिठाइ, घ्यू, तेललगायत पदार्थ नष्ट गराइएको छ। हंसराज मिठाइको कारखानामा किरा परेको तित्री (इमली), प्रतिबन्धित पाउडर दूध, हाइड्रो, रंग, फिटकिरीलगायत अखाद्य वस्तु मिसाइएको फेला परेको छ। अनुगमन टोलीले पसलमा फेला परेका अखाद्य पदार्थ नियन्त्रणमा लिई नमूना चेकजाँचका लागि गुण प्रविधि तथा नियन्त्रण कार्यालयमा पठाएको छ ।

जानकी मन्दिरस्थित रघुपति मिष्ठान भण्डार तथा ओम बेकरी हाउसमा मिति सकिएका पाउरोटीमा फेरि अर्को मिति राखिएको फेला परेको थियो। रघुपति मिष्ठान भण्डार तथा ओम बेकरिले संयुक्त सञ्चालन गरेको कारखानाको दूध र दूधबाट बनेका मिठाइलगायत खानेकुरामा झिंगा, लामखुट्टे र माहुरी मरेको पाइएको थियो ।

अझै भएन कारवाही

यी तीनवटै होटलमा आधा दर्जनभन्दा धेरै अनुगमन भइसके पनि सम्बन्धित नियकाले कारवाही अहिलेसम्म भएको छैन । उनीहरूलाई मिसावट नगर्नु नत्र कारवाही हुन्छ भनी अखाद्य पदार्थको नमूना परीक्षणका लागि पठाएर चेतावनी मात्र दिइने गरेको छ।

अनुगमनपछि मिसावट गर्नेमाथि के कस्ता कारवाही भए सार्वजनिक गरिएको छैन। जति पटक अनुगमन गरे पनि ती रेस्टुरेन्ट सञ्चालकले अखाद्य वस्तु मिसावट गर्न छाडेका छैनन्। अनुगमनकर्ताले राम्रै रकम लिई कारवाही नगर्ने गरेको आरोप सर्वसाधारणले लगाउने गरेका छन्।

पछिल्लो पटक फागुन १७ गते पनि हंसराज मिठाइ र रघुपति मिष्ठान तथा ओम बेकरिजमा अनुगमन गरिए पनि कुनै कारवाही भएन। यी दुवैमा होटल व्यवसायी संघका जिल्ला अध्यक्ष दशरथ साहको लगानी रहेको छ।

त्यसअघि असोज २६ गते रघुपति मिष्ठान भण्डार र ओम बेकरिजको मिठाइ कारखानामा अनुगमन गरी सिल पनि गरिएको थियो। उच्च अदालतले समेत कारखाना बन्द गर्न अन्तरिम आदेश दिएको थियो। तर अदालतको आदेशको समेत अवहेलना गर्दै मापदण्डविपरीतका र मानव स्वास्थ्यमा घातक असर गर्ने अखाद्य सामाग्री मिसावट पाइएकाले सिल गरिएको कारखाना केही दिनपछि आर्थिक चलखेल गरी फेरि सञ्चालनमा आए।

कारवाही हुन्छ : प्रजिअ

पटक पटक अनुगमन भए पनि कारवाही नभएको जिज्ञासामा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले भने बजारमा धेरै सुधार आएको दाबी गरे। उनले भने, ‘मान्छे समात्ने अधिकार ऐनले हामीलाई दिएको छैन, त्यसका लागि हामीकहाँ मुद्दा आउनु पर्यो, कारवाहीको अधिकार अब स्थानीय तहमा रहेकाले हामी केही गर्न सक्दैनौं।’

‘तर हामीले दोषीलाई सचेत हुन निर्देशन दिएका छौं र  नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई कारवाही गर्न भनिसकेका छौं।’

पर्वमा कमाउने भाँडो अनुगमन

बर्सेनि दसैं तिहार चाडपर्वका बेला जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र नापतौल तथा गुणस्तर कार्यालयद्वारा अनुगमन गरिन्छ। अनुगमनमा यी रेस्टुरेन्ट र होटलसहित दर्जनौं रेस्टुरेन्टमा मापदण्डविपरीत सञ्चालित, अखाद्य वस्तु मिसावट र दूषित खाना बिक्री वितरण गरेको फेला पर्दै आएको छ।

दसैंतिहारबाहेक बेला बखत सम्बन्धित कार्यालयले अनुगमन गर्ने गरेका छन्। सञ्चारकर्मीहरूले कारवाहीबारे जिज्ञासा राख्दा सम्बन्धित निकायले हामीले जफत सामग्री परीक्षण गर्न माथिल्लो निकायमा पठाएका छौं, रिपोर्ट आएपछि कारवाही हुन्छ भन्ने जवाफ हरेकपल्ट दोहोर्याउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्