सवारी दुर्घटनामा एक जनाको मृत्यु, सडक अवरूद्ध



सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिका-९ बोटेचौर बजारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले सडक अवरूद्ध गरेका छन् ।

बिहीबार बेलुका साढे ७ बजे भएको दुर्घटनामा स्थानीय ४८ वर्षीय धनबहादुर भण्डारीको मृत्यु भएको हो । दुर्घटनामा दुई जना बालक घाइते छन् । बाँकेको कोहलपुर नगरपालिका-२ का ८ वर्षीय भीमबहादुर खड्का र १ वर्षीय भुवन खड्का घाइते छन् ।

उनीहरूको नेपालगञ्जमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

घर्तीका अनुसार भीम र भुवन दाजुभाइ हुन्। उनीहरू गुर्भाकोट नगरपालिका-९ स्थित मामाघरमा बस्दै आएका थिए । बिहीबारका पैदल हिँडिरहेका भण्डारीको ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो भने नजिकै रहेका भीम र भुवन घाइते भएका थिए ।

सल्यानको सल्लीबजारबाट सुर्खेतको मालारानी आउँदै गरेको ना ८ ख २३१४ नम्बरको ट्रकले उनीहरूलाई ठक्कर दिएको डिएसपी घर्तीले बताए । मानिसलाई ठक्कर दिएपछि ट्रक धनी र चालक फरार भएपछि पीडित आफन्त आन्दोलनमा उत्रिएका थिए । शुक्रबार बिहानैदेखि आफन्तको आन्दोलन जारी रहेको घर्तीले बताए ।

आन्दोलनका कारण छिन्चु-जाजरकोट सडक खण्ड अवरूद्ध छ । ‘अहिले पनि अत्यावश्यक बाहेकका सवारी साधन सडकमा चल्न पाएका छैनन्, आफन्तको आन्दोलन जारी छ,’ घटनास्थलमा खटिएका डिएसपी घर्तीले भने । आफन्तले ट्रक चालक र धनीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका छन् ।

चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने थप अनुसान्धन भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ५ मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्