४ महिनामा सुदूरपश्चिममा ८८ बलात्कारका घटना



धनगढी : साउनयता सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ८८ वटा बलात्कारका घटना भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले दिएको जानकारी अनुसार यस अवधिमा कैलालीमा सबैभन्दा बढी ४४ बलात्कारको घटना भएको छ ।

यस्तै कञ्चनपुरमा १५, बैतडीमा ९, डोटीमा ७, बझाङमा ५, डडेल्धुरामा ४, बाजुरामा २ र दार्चुला र अछाममा १-१ जबरजस्ती करणी भएको भन्दै जाहेरी दर्ता भएका प्रदेश प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ ।

यस अवधिमा जवरजस्ती करणी उद्योगमा ३६ घटना दर्ता भएका छन् । कैलालीमा १३, कञ्चनपुरमा ९, बझाङमा ५, अछाम र डडेल्धुरामा ३-३, बैतडीमा २ र बाजुरामा १ जवरजस्ती करणी उद्योगका घटना भएका छन् ।

यस्तै कैलालीमा ३, कञ्चनपुरमा २ र डडेल्धुरामा १ गरी अपहरण गरी जबरजस्ती करणीका ६ वटा जाहेरी परेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार डोटी र बझाङमा २ महिलालाई जवरजस्ती करणी गरी हत्या गरिएको छ ।

यस्तै मानव बेचबिखन तथा जवरजस्ती करणीका १, अप्राकृतिक मैथुनका ३, बाल यौन दुव्यवहारका ५ र हाडनाता करणका १ जाहेरी दर्ता भएका प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ ।

महिलाहरुप्रति समाज असहिस्ष्णु भएका कारण बलात्कार र यौन दुव्र्यवहारका घटनाहरु बढ्दै गएका बताउँछन् प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह । समाजले पीडकहरुलाई सहजै पचाउने भएका कारण पनि अपराधका घटनाहरु बढ्दै गएको उनको भनाइ छ ।

उनले भने,‘पीडितलाई समाजमा हेयको दृष्टिले हेरिन्छ, पीडिकलाई सबैले सहजरुपमा स्वीकार्छन्, जबकि समाजले पीडितलाई सहानुभूति प्रकट गर्नु पर्ने हो, समाजमा समायोजन गराउनका लागि सवैले सहयोग गर्नु पर्ने हो ।’ पीडित शारीरिक र मानसिक पीडामा भएका बेला समाजको व्यवहारले उसलाई झन लज्जाबोध हुने गरेको सिंहले वताए ।

समाजमा अहिले पनि जबरजस्ती करणीका घटनाहरु मिलापत्र गर्ने गरेकाले पनि अपराधीहरुको मनोबल बढेको सिंहको बुझाइ छ । उनले भने,‘घटना हुन्छ, समाजका मान्छेहरु बसेर मिलापत्र गर्न खोज्छन् । त्यसपछि अपराधीहरु झन बढी सक्रिय हुन्छन् ।’

पीडितका परिवारले पनि आफ्नो इज्जतसँग जोड्ने र कानुनको दायरामा आउनुभन्दा मिलापत्रै गरेर टुंंग्याउने गरेका कारण पनि यस्तो समस्या आएको सिंहको भनाइ छ । अपराधी जो कोही भए पनि अपराधी नै हो भन्ने बुझाई समाजमा हुनु पर्ने र अपराधका घटनाहरु कानुनको दायरामा ल्याउनका लागि सामाजिक अगुवाहरुले पनि भूमिका खेल्नु पर्ने सिंहले बताए ।

प्रकाशित :५ मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्