पर्सामा छठ पर्व



पर्सा : तराई मधेशवासीको महानपर्व छठ पुजाको तेश्रो दिन आज अस्ताउदै गरेको सूर्यको पूजा तथा खष्टी मातालाई अर्घ दिएर मनाईएको छ ।

कोरोना महामारीकाबीच सावधानी पूर्वक छठ पर्व भव्य रुपमा भईरहेको छ । सूर्यदेवलाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइ सहितका प्रसाद अर्पण गरिन्छ भने चौथो तथा अन्तीम दिन आईतबार उदाउदै गरेको सूर्य र खष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ ।

छठको पहिलो दिन बुधबार नहान खान गरि मनाइयो । नहान खानलाई जनकपुर तिर अरबा-अरबाइन पनि भन्ने गरिन्छ । यसलाई जीउ शुद्ध गर्ने दिनसमेत भनिन्छ । नहान खानको दिनदेखि व्रतालुहरुले माछा, मासु, लसुन, प्याज, कोदो, मुसुरो ईत्यादी वस्तु परित्याग गरी व्रत बस्न सुरु गर्दछन् ।

त्यसको भोली पल्ट अर्थात बिहिबार दिनभरि भोकै बसी बेलुकी तिर दूध र सक्करमा बनाईएको खिर र रोटी खाई खरना गरिन्छ जसलाई रसियाव रोटी पनि भनिन्छ । तेश्रो दिन आज साझपख सुर्यदेवतालाई अर्घ दिईएको छ ।

जीवनदायी शाब्दी सूर्यदेवता र छठीमाताको आराधना गर्दै यो पर्व मनाइन्छ । वीरगन्जको मुटु मानिने घडिअर्वा पोखरी, नगवा पोखरी¸ स्विमिङपुल, रानिघाट, छपकैया लगायत ग्रामिण क्षेत्र लगायत तराई मधेश क्षेत्रमा नदि ताल तथा पोखरीहरुका साथै काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा रहेका छठघाटहरु अहिले बेहुलिझै झकिझकाउका साथ सिंगारिएको छ ।

छठका दिन ब्रत बस्नेले आफैंले प्रसादका रुपमा ठेकुवा, भुसवा, कसार लगायतका मिष्ठान्नहरु तयार पारी नदी, तलाउ वा जलाशयमा नुहाएर अस्ताउ“दो सूर्यलाई पूजा गरी आज पहिलो अर्घ दिइएको छ । अस्ताउँदो सुर्यलाई अर्घ दिन आज साँझ छठ घाटहरुमा श्रद्धालु भक्तजनहरुको ठुलोे भिड लागेको छ ।

छठ पर्वका अवसरमा आज ब्रत बसी सूर्यको उपासना र पूजा गर्नाले चर्मरोग नलाग्ने, सन्तान प्राप्तिका साथै सुख, समृद्धि हुने धामिर्क विश्वास रहिआएको पाइन्छ । सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा समेत लिने यस पर्वले सामाजिक, धार्मिक सद्भावलाई समेत बचाएर राखेको छ ।

हुन त जिल्ला प्रशासन कार्यालय पर्साले छठ पर्व व्यवस्थित बनाउँन विभिन्न सुरक्षा उपायहरु अपनाएको छ । मुख्यत वीरगन्ज महानगरपालिकाको वडा नम्बर १० घडिअर्वा, वडा नम्बर १६ नगवा, वडा नम्बर ९ रानीघाट र वडा नम्बर १२ मुर्लीको छठघाट सजाउन दिएको छैन ।

भव्य र सव्य रुपमा मनाईने यो पर्वमा पोखरी, नदी, ताल तलाव सजावट गर्न लाखौ रुपैया खर्च गरिन्थ्यो तर यसपालि स्थानिय प्रशासनले कोरोना संक्रमण फैल्न नदिनको लागि र छठघाटमा भिडभाड हुन नदिनको लागि छठघाट सजावटमा रोक नै लगाएको छ ।

समान्य झिलिमिल बत्ति, साउन्ड सर्विभ बाहेक अन्य सम्पूर्ण सांस्कृति कार्यक्रम र सजावटमा रोक लगाएको छ । वीरगन्जको मुटु मानिने घडिअर्वा पोखरीमा मात्र १५ लाख भन्दा बढी रुपैया सजावट खर्च हुने गरेको थियो । यहाँ हुने छठ पुजा हेर्न पर्सा जिल्लामा मात्र नभई देश विदेशबाट श्रद्धालुहरु आउँने गरेका थिए ।

प्रकाशित :५ मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्