पाकिस्तानमा बसबाट अपरहण गरी १४ यात्रुको हत्या (अपडेट)



क्वेटा : दक्षिण पश्चिमी पाकिस्तानमा एक अज्ञात बन्दुकधारीले एउटा यात्रु बसबाट अपहरण गरी १४ यात्रुको हत्या गरेको छ। बन्दुकधारीले पाकिस्तानको आर्थिक राजधानी मानिने कराँचीबाट अरब सागरस्थित ग्वादर बन्दरगाह गइरहेको थियो। बन्दुकधारीले यात्रुको परिचयपत्र हेर्दै उनीहरूलाई बसबाट उतारेर अपहरण गरेको एक पाकिस्तानी अधिकारीले बताएका छन्। 

अहिलेसम्म कुनै पनि समूहले यात्रु हत्याको जिम्मेवारी लिएको छैन। यात्रु बस ग्वादर बन्दरगाहतर्फ गइरहेको थियो। अरब सागरस्थित ग्वादर बन्दरगाह चीनले ठूलो लगानीमा निर्माण गरिरहेको छ।

बलुचिस्तानका गृहमन्त्री जियाउल्ला लांगोभेले मारिएका यात्रुको हातखुट्टा बाँधिएको अवस्थामा ओर्मर सहरनजिकै फेला परेको बताए। ओर्मर कराँची र ग्वादरको करिब करिब बीचमा पर्छ।

‘आतंककारीहरूले विभिन्न बसबाट राष्ट्रिय परिचयपत्र हेर्दै १४ जनालाई उतारेर आफूसँग लगे र उनीहरूको हत्या गरे’, प्रान्तीय गृहमन्त्री लांगोभेले जानकारी दिए।

तर उनले कसरी बन्दुकधारीहरूले परिचयपत्रका कुन कुराका आधारमा अपहरण गर्ने यात्रु छानेर लगे र हत्या गरे बताएनन्। उनले हत्या गरिएका यात्रुबारे पनि कुनै जानकारी दिएनन्।

रैथाने बलुच पृथक्तावादी समूहहरूले स्थानीयलाई पाखा लगाएर प्रान्तको प्राकृतिक स्रोत साधनको दोहन गरिरहेको आरोप पाकिस्तानमाथि लगाउँदै आएका छन्। यसअघि उनीहरूले विदेशी र अन्य प्रान्तका पाकिस्तानीमाथि आक्रमण गर्दै आएका थिए। बलुचिस्तानका सिया मुस्लिम समुदायमाथि पनि सुन्नी समुदायले आक्रमण गर्दै आएका छन्।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आक्रमणको कडा भत्र्सना गरेका छन्। उनले सुरक्षा निकायसँग आक्रमणबारे तत्काल प्रतिवेदन मागेका छन्।

यसपूर्व पाकिस्तानी सञ्चारमाध्यमले एउटै बसबाट ती यात्रु बन्दुकधारीले अपहरण गरेको जनाएका थिए। लांगोभेले भने ती यात्रुहरू ६ वा ७ बसबाट उतारेर अपहरण गरेको बताए।

पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ। त्यहाँ पाकिस्तानी तालिबानलगायत विभिन्न कट्टरपन्थी इस्लामिक पृथक्तावादी लडाकु समूह संघर्षरत छन्। त्यहाँ नियमितजस्तै सेना–लडाकु झडप हुने गरेको छ। बलुचिस्तान प्राकृतिक ग्यास र खनिजका खानीको धनी प्रान्त हो।

पाकिस्तानका अन्य प्रान्तमा सुरक्षा व्यवस्था पहिलेभन्दा निकै सुधार भए पनि बलुचिस्तानमा भने नियमितजस्तै आक्रमण हुने गरेको छ। चीनले आफ्नो भूभाग पनि जोडिने गरी बलुचिस्तान हुँदै ग्वादरसम्म निर्माण गरिरहेको आर्थिक करिडोरमा पृथक्तावादी लडाकुले अवरोध गर्नसक्ने त्रासमा चीन र पाकिस्तान दुवै देश छन्।

ग्वादर बन्दरगाह निर्मणसहित उक्त करिडोर पनि चीनको महत्वाकांक्षी परियोजना बिआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) अन्तर्गतकै हो।

प्रतिक्रिया दिनुहोस्