बाँकेको क्यान्सर अस्पतालमा शल्यक्रिया शुरु, ३ जनाको निः शुल्क शल्यक्रिया



नेपालगन्ज : पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा शल्यक्रिया सेवा शुरु भएको छ ।

अस्पताल परिसरमा आयोजित कार्यक्रममा बाँके क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य नन्दलाल रोकायले सेवा शुभारम्भ गरेका हुन् । अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आचार्यले सेवा शुभारम्भ भएको अवसरमा बिरामीको निःशुल्क शल्यक्रिया गरिएको बताए ।

उनले भने, ‘शुक्रबार ३ जनाको निःशुल्क शल्यक्रिया गरेका छौं । नाम दर्ता गराएका थप १० जनाको पनि आइतबारसम्म शल्यक्रिया हुनेछ ।’ एक जनाको स्तन ट्युमर, अर्कोको रक्तनलीको ट्यूमर र तेस्रो व्यक्तिको बोसो र पानी जमेको बिरामीको शल्यक्रिया भएको हो ।

डा. आचार्यले हिस्टो प्याथोलोजी, स्त्री रोग, नाक कान घाँटीको विषेशज्ञ ल्याएर सेवा विस्तार गर्ने बताए । जनस्तरबाट शुरु भएको क्यान्सर अस्पतालको स्वामित्व नेपाल सरकारले लिएर पश्चिम नेपालमा सेवा दिन पाएकोमा खुसी लागेको खजुरा गाउँपालिका अध्यक्ष तथा जनस्तरबाट अस्पताल निर्माणका लागि क्रियाशील प्रखर परोपकार मिसनका अध्यक्ष किस्मतकुमार कक्षपति बताए ।

प्रकाशित : ५ मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्