झुलाघाट नाका ५ दिनका लागि खोलिने



बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ ।

मंसिर ८ देखि १२ गते शुक्रबारसम्मका लागि नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो होस् भनेर नाका खोल्ने तयारी भएको उनले जानकारी दिए । नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डीएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए ।

पेन्सनधारी नागरिकहरूले कोरोनाका कारण सीमा नाका बन्द भएपछि गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् । पेन्सनधारी नागरिकको समस्यालाई मध्यनजर गरेर नाका खोलिन लागेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरूलेसमेत आवतजावत गर्न पाउने छन् । बैतडीमा १२ सय बढी भारतीय पेन्सनधारी नागरिक छन् । ५ दिनभित्र पेन्सन बुझ्नका लागि नाका खोलिन लागेको हो ।

नाकामा पेन्सनधारीहरूले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित :५ मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्