उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि सकियो छठ पर्व



काठमाडौं : उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि बुधबारदेखि शुरु भएको छठ पर्व आज (शनिबार) सकिएको छ ।

शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका व्रतालुहरुदले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् ।

यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवनप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान चाड छठ पर्व आजबाट सकिएको छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोनाका कारण विगतका वर्षहरुमा भन्दा यस वर्ष फरक ढंगले छठ मनाइएको छ ।

कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर छठ पर्व मनाइन्छ । ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ । छठ पर्व विशेष गरी नेपालको मध्य र पूर्वी तराईमा मनाईने गरिएको भएपनि पछिल्लो समयमा काठमाडौं, हेटौंडा, चितवन लगायतका केही पहाडी र भित्रि मधेशका जिल्लामा समेत उल्लासका साथ मनाउने गरिन्छ ।

छठ पूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै पातसहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि चढाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

चैतमा पनि छठ पर्व मनाइन्छ । कतिपयले भाकल पूरा भएपछि छठको व्रत बस्ने गरेका छन् भने कतिपयले मनोकांक्षा पूरा होस् भनेर छठी माता र सूर्यको आराधना गर्दछन् ।

प्रकृतिको छैठौं वंशले उत्पन्न भएकी ब्रम्हाकी मानसी पुत्रीलाई षष्ठीदेवी भनेर चिनिन्छ । स्वामी कार्तिकेयको श्रीमती नै छठी माता भएको सँस्कृतिविदहरु बताउँछन् । बालदा षष्ठी अर्थात बालक दिने र बालककको पूरा हेरचाह गर्ने भनेर छठीमाता चिनिन्छ । छठमा सुर्यको उपासनासँगै उनै देवीको पूजा गरिन्छ ।

प्रकाशित : मंसिर ६, २०७७

प्रतिक्रिया दिनुहोस्