१४ मंसिरमा चिनियाँ रक्षामन्त्री नेपाल आउँदै



काठमाडौं : चिनियाँ रक्षामन्त्री वेई फेङ्गे मंसिर दोस्रो साता नेपाल आउँदै छन् । चिनियाँ रक्षामन्त्री फेङ्गे दुईदिने नेपाल भ्रमणका लागि मंसिर १४ गते नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–चीन सम्बन्धको ६५ औँ वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको नेपाल भ्रमण हुन लागेको हो । वेईको नेपाल भ्रमणका क्रममा आपसी समन्वयका विविध विषयमा कुराकानी हुनेछ ।

रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरुसँग भेटवार्ता गर्नेछन् ।

साथै उनी चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको वृहत्त कार्यक्रममा पनि सहभागि हुने छन् ।

त्यस्तै यही मंसिर ११ गते भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगला काठमाडौं आउँदै छन् । विदेशसचिव श्रृंगला परिचयात्मक सद्भावना भ्रमणका लागि नेपाल आउन लागेका हुन् । उनी १२ मंसिरमा स्वदेश फर्कनेछन् । उनी फर्केको पर्सिपल्ट अर्थात मंसिर १४ मा चिनियाँ रक्षामन्त्री काठमाडौं आउने छन् ।

त्यसोत यसअघि भारतीय सेनाध्यक्ष मनोमुकुन्द नरभणे र खुफिया ऐजेन्सी ‘रअ’ प्रमुख सामन्त गोयलले समेत नेपाल भ्रमण गरिसकेका छन् ।

प्रकाशित : मंसिर ६, २०७७

प्रतिक्रिया दिनुहोस्