कटुवा पेस्तोसहित सिरहाबाट युवक पक्राउ



सिरहा : प्रहरीले छठ पूजाको घाटबाट पेस्तोसहित एक युवकलाई पक्राउ गरेको छ । शनिबार

बिहान सिरहाको औरही गाउँपालिका–५ स्थित छठ घाटबाट कटुवा पेस्तोलसहित सोही ठाउँका २२ वर्षीय रविन दासलाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्ना छिमेकी ४२ वर्षीय बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन पेस्तोल बोकेर छठघाटमा गएको सूचनाअनुसार प्रहरीले उनलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

 उनले बिनोदको कन्चटमा पेस्तोल ताकेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बिनोदसँग उनको पुरानो रिसइबी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता शर्माले बताए ।

प्रहरीका अनुसार दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल बरामद भएको छ । सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको शर्माले बताए ।

प्रहरी नियन्त्रणमा रहेका दासमाथि थप अनुसनधन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ६, २०७७

प्रतिक्रिया दिनुहोस्