छिमेकीमाथि बन्दुक ताक्ने युवक पक्राउ



सिरहा : सिरहामा कटुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् ।

आज (शनिबार) बिहान ७ बजे औरही गाउँपालिका ५ जगदेव बाबा पोखरीमा छठ पर्व मनाइरहेको स्थानबाट एक युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्ने युवक सोही वडाका २२ वर्षीय रबिन दास हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माका अनुसार दासले पोखरीमा आफ्ना छिमेकी ४२ वर्षीय विनोदकुमार यादवलाई बन्दुकले ताकेका थिए ।

‘छठ पर्वको पुजा भइरहेको ठाउँमा उनीहरू दुबैबीच वादविवाद हुन्छ । केहीबेरपछि दासले बन्दुक निकालेर यादवको कञ्चटमा ताक्छन्,’ प्रहरी नायब उपरीक्षक शर्माले भने । प्रहरीका अनुसार उनीहरूबीच व्यक्तिगत दुश्मनी रहेको बताइएको छ ।

त्यहाँ स्थानीयहरू सूर्यलाई अर्घ्य दिइरहेका थिए । बन्दुक ताकेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई पोखरीबाट नियन्त्रणमा लिएको थियो ।

बन्दुकमा एक राउन्ड गोली लोड भएको अवस्थामा बरामद भएको शर्माले बताए । प्रहरीले दासबाट अन्य दुई गोली पनि बरामद गरेको छ । दासले कटुवा बन्दुक कहाँबाट ल्याए भन्नेबारेमा अनुसन्धान भइरहेको दासले बताए ।

प्रकाशित :६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्