म्याग्दीमा बारम्बारको असिनाले लाखौंको क्षति



म्याग्दी ः पटक पटकको बर्सिएको असिनापानीले म्याग्दीका विभिन्न ठाउँमा लाखौंको क्षति गरेको छ। पछिल्लो पटक मंगलबार र बुधबार परेको असिनाले बेनी नगरपालिका–३ भकिम्लीको मरेक, भकिम्लीलगायत गाउँका बाली नष्ट गरेको स्थानीय किसानले जानकारी दिएका छन्।

मरेकका किसान इन्द्र थापाका अनुसार असिनाले चुटेर हिउँदेबाली, फलफूल र तरकारी नष्ट भएको छ। असिनाले मरेकमा मात्रै ६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको थापाले जानकारी दिए।

असिनाले सुन्तलाको फूल झारेको छ। भित्र्याउने बेला भएको गहुँको बाला भुइँमा लतारेको छ। तरकारी र एकोहोरो खन्ने बेला भएका मकैका बिरुवा असिनाले चुटेर थिल्थिलो पारेको छ। मरेकसँगै सिंगा र बरन्जामा पनि असिना परेको छ। बास्कुना र सुर्केमेलाको सिमानास्थित ठाडो खोल्सामा ठूलो बाढीसमेत आएको थियो। मालिका गाउँपालिका–५ देवीस्थानमा चट्याङ लागेर दाङाकी मिसा सिउथानी घाइते भएकी छन्।

पटक पटकको असिना पानीले म्याग्दीका किसान हैरान भएका छन्। भित्र्याउने बेलाको गहुँ असिनाले झारेपछि किसान चिन्तित छन्। त्यसैगरी तरकारी र फलफूल खेतीमा पनि ठूलो क्षति भएको किसानले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्