३५ किलो गाँजासहित तीन जना पक्राउ



सर्लाही : सर्लाही प्रहरीले ३५ किलो गाँजासहित बिहीबार तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५ रञ्जितपुरका ५६ वर्षीय आन्द्रा भन्ने बिजबहादुर गोले, लालबन्दी नगरपालिका–१४ नारायणखोलाका ३५ वर्षीय धर्मलाल वाइवा र ३५ वर्षीय लालबहादुर थिङ रहेका छन्।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले गोलेको घरमा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरणप्रसाद न्यौपानेले जानकारी दिए।

प्रहरी निरीक्षक न्यौपानेले प्रारम्भीक अनुसन्धानका क्रममा वाइवा र थिङले नारायणखोलादेखि लुकाईछिपाई गाँजा लिएर आएको र गोलेले घरमा राख्न दिएको खुलेको बताए। गाँजासहित पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी कारबाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ।

सर्लाहीको उत्तरी सीमावर्ती क्षेत्र सिन्धुली र मकवानपुरमा उत्पादन हुने अवैध लागूऔषध गाँजा सर्लाहीका उत्तरी कच्ची बाटो हुँदै भारतसम्म तस्करी हुने गरेको जानकारहरूले बताउने गरेका छन्। चापिनी, लखन्देही, बाँके लगायत खोलाको बाटो हुँदै गाँजा ओसारपसार गर्ने गरिएको बताइन्छ। 

प्रतिक्रिया दिनुहोस्