कार्यालय थुनेर जनप्रतिनिधि दार्जिलिङतिर, सेवाग्राही अलपत्र



रुकुम : रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका ३ की लिला गुरुङ्ग नाती र नातीनी बोकेर अपाङ्गता परिचय पत्र बनाउन मंगलबार गाउँपालिकाको कार्यालयमा पुगिन्। हरेक महिनाको ३ गते वितरण हुँदै आएको अपाङ्गता परिचय पत्र मंगलबार भने वितरण भएन्।

निकै भिडभाड हुने गाउँपालिकाको कार्यालयमा उनी आउँदा बन्द जस्तै थियो। कार्यालयमा कोहि नभएको भन्दै यहाँका एक जना कार्यालय सहयोगीले उनलाई बाहिरैबाट फर्कापछि लिला रितो हात घर फर्किइन्। उनका नाती दिवस र नातीनी मनकला शारीरिक अपाङ्ग छन्।

यहाँका कर्मचारीहरू भ्रमणमा गएका कारण आफू रितो हात फिर्ता भएको लिलाले बताइन्। उनी जस्तै गाउँपालिका वडा नं. ४ का गोकर्ण चन्दका दुबै खुट्टाका पैतला छैनन्। बैसाखीकोसहारामा अपाङ्ग परिचय पत्र लिन गाउँपालिको कार्यालयमा आएका चन्द पनि रितो हात घर फर्किए। गत चैत ३० गतेदेखी गाउँपालिकामा आउँने सबै सेवाग्राही यसरी नै रितो हात फर्कने गरेका छन्।

गाउँपालिकाको कार्यालय रितो बनाएर यहाँका कार्यालय सहयोगीदेखि गाउँपालिका अध्यक्षसम्म भ्रमणका लागि जिल्ला बाहिर गएपछि सेवाग्राही खाली फर्कनु परेको हो। गाउँपालिका अध्यक्ष नरबहादुर पुन नेतृत्वमा यहाँका जनप्रतिनिधि र कर्मचारीहरू दार्जिलिङ लगायतका विभिन्न ठाउँमा भ्रमण गर्न गएका छन्।

कार्यालय नै खाली गरेर भ्रमण गर्न गएपछि सेवाग्राहीलाई सास्ती भएको छ। गाउँपालिकामा निकै कामको चाप हुने समयमा कार्यालय रितो बनाएर भ्रमणमा गएपछि सेवाग्राहीहरू आक्रोसित भएका छन्।

गाउँमा सञ्चालन भइरहेका विभिन्न योजनाको रकम भुक्तानी दिनुपर्ने समयमा कर्मचारीलाई बोकेर गाउँपालिकाको अध्यक्ष नै भ्रमणमा गएको स्थानीय नविन ओलीले बताए। विभिन्न ठाउँमा सेवा लिनको लागि प्रत्येक दिन सर्वसाधारण गाउँपालिकामा आउने गरे पनि कर्मचारी कोहि नभएको उनले बताए।

गाउँपालिका अध्यक्ष पुनका साथै उपाध्यक्ष इन्दीरा ओली, प्रमुख प्रशासकीय अधिकृत कुमारी रिमा मल्ल, इन्जिनियर मोहनकुमार ओली, नायव सुब्बा खिमप्रकाश शाह र मिनाराम केसी, सूचना प्राविधि अधिकृत नविन चौधरी, सहायक लेखापाल कविन्द्र पुन, वडा नं. ७ का वडाध्यक्ष कुलबहादुर बुढाथोकी लगायतका १८ जना कर्मचारी तथा जनप्रतिनिधिहरू कार्यालय खाली गराएर भ्रमणमा गएका हुन्।

भ्रमणमा गएकामध्ये ४ जना जनप्रतिनिधि रहेका छन् भने १४ जना कर्मचारी छन्। गाउँपालिकामा कर्मचारी तथा जनप्रतिनिधि नभएको भन्दै जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा व्यापक गुनासो आएपछि मंगलबार अनुगमण गरिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा नेतृत्वमा गरिएको अनुगमनका क्रममा कार्यालय खाली भेटिएको थियो। आफूहरू कार्यालयमा पुग्दा सव ओभरसियर रुद्र गोपाल डाँगी, पोषण सहजकर्ता सरस्वती विक र कार्यालय सहयोगी शेरबहादुर कामी मात्र भेटिएको शर्माले बताए।

सेवाग्राहीको काम छोडेरै भ्रमणमा जानुको कारण भने जानकारी हुन नसकेको उनको भनाई छ। ‘यसरी कार्यालय खाली गरेर भ्रमणमा किन जानुभएको हो अहिले कुनै जानकारी भएको छैन्, हामी कार्यालय आउँदा बन्द जस्तै थियो,’ जिल्ला समन्वय समितिका प्रमुख शर्माले भने, ‘यो विषय गम्भीर भएकाले अहिले नै केहि भन्न सकिदैन् के गर्ने भन्ने विषयमा हामी गम्भिर रुपमा छलफल गर्छाैं र आवश्यक कारबाही हुन्छ।’ 

प्रतिक्रिया दिनुहोस्