ढुवानी गर्दा पशुलाई चरम यातना 



धादिङ : पशुलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा वा वध गर्नुअघि चरम यातना दिन नपाइने कानुन नेपालमा पटक पटक बनेका छन्। तर, यसको कार्यान्वयन भने अझै हुन सकेको छैन्। यसको उदारहणका रुपमा मासुका लागि राजधानीमा लगिने राँगा र भैँसीको ढुवानीलाई लिन सकिन्छ।

पृथ्वी राजमार्ग भएर दैनिक सयौं राँगा, भैँसी र खसी बाख्रालाई कष्टपूर्ण यातना दिएर राजधानी लगिन्छ। सामान्यतया ठूलोमा १५ देखि २० र साना ट्रकमा ८ देखि १० वटा बोक्नुपर्ने हुन्छ। तर, पशु ढुवानीको नाममा एउटै गाडीमा ३० देखि ५० वटा राँगा, भैँसी ढुवानी गरिँदै आएको छ।

पशु ढुवानी नियमावली लागू गराउन सरोकारवालालाई जानकारी गराउनुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले बताए। ‘ढुवानी मापदण्ड के हो र त्यसको उल्लंघन गरे के कस्तो जरिवाना हुन्छ भन्ने जानकारी छैन,’ उनले भने, ‘हामीले चेकजाँच चाँहि गर्ने गरेका छौँ, कारबाही गर्ने अधिकार हामीमा हुँदैन।’

हरेक हप्ता तराईमा आयोजना हुने पशुमेला, हटिया, हाटबजारबाट खरिद गरिएका राँगा, भैँसी रातारात भोकभोकै राजधानीसम्म ढुवानी गरिन्छ। सामान्य अवस्थामा दैनिक ५ देखि १२ वटासम्म र चाडपर्वमा २० देखि ४०  सम्म  राँगा, भैँसी र पाडा, पाडी बोकेका ढुवानी साधनहरू राजधानी भित्रने गर्छन्।

यसरी लैजाने राँगा भैँसीलाई रगताम्य हुने गरी कुटपिट गर्दै लगिन्छ। धेरै जसोले त गाडीमा चढाएदेखि नओरालेसम्म खानेकुरा र पानीसमेत नखुवाई लैजाने गर्दछन्। कानुन बनेपनि राजमार्ग भएर राजधानी लगायत देशका विभिन्न भागमा लगिने पशुहरूलाई यातना दिने क्रम रोकिएको छैन्। 

मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २७ मा ‘पशुपन्छी सम्बन्धी कसुर’ मा पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नपाइने कानुन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश विष्टले बताए।

पशुपन्छीलाई गलत तरिकाले ओसारपोसार गर्ने र कानुनको पालना नगर्नेलाई कारबाही गर्नेछौँ, डिएसपी विष्टले भने, ‘पशुपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म कैद अथवा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा रहेको छ।’ 

राँगा, भैँसीलाई उभ्याएर राख्ने, पुच्छर फर्काएर बाँध्ने, एउटै ट्रकमा क्षमता भन्दा धेरै कोचेर बाँध्ने, थाकेर बस्न खोजेमा फलामका रड र बाँसका भाटाले पिट्दै रगताम्मे पारेर उभ्याई राख्ने ब्यापारीहरूको यो निर्दयपना अझै हटेकोे छैन्। यसरी निर्दयी ढंगबाट भैँसी तथा राँगाको ढुवानी हुने गरेको वर्षौ बितिसकेको छ। यस्तो कार्य रोक्न कानुन बनेको छ तर, कार्यान्वयन हुन सकेको छैन्।

प्रतिक्रिया दिनुहोस्