साइकल लेन : विकसित देशमा सडक मासेर बनाइँदै, नेपालमा बनेका योजना पनि दराजमा !



काठमाडौं : दोलखा घर भई सामाखुसी बस्ने ७३ वर्षका बालकृष्ण तामाङ अझै साइकलमा कार्यालय आउजाउ गर्छन् । उनी वसुन्धरामा रहेको एक गार्मेन्ट फ्याक्ट्रीमा चौकीदारको काम गर्छन् । 

उनी अफिस आउजाउ मात्र हैन बिहान ३० मिनेट साइकल चलाएरै शारीरिक अभ्यास गर्छन् । दुवै घुँडामा समस्या भएकाले चिकित्सकले उनलाई साइकल चलाउन सुझाएका छन् । त्यसैले पनि उनले साइकल यात्रा रोजेका हुन् । 

४० वर्षदेखि साइकल चलाइरहेका उनलाई साइकल लेन नहुँदा भने निकै सास्ती हुने गरेको छ । लेन नहुँदा गाडी कुदाउने सडकमै साइकल गुडाउनुपर्ने बाध्यता छ । ‘मोटरसाइकल तथा गाडी चालकले साइकलमा हिँडेकालाई पेलेर हुइँकिन्छन्,’ उनी भन्छन्, ‘बिहान घरबाट हिँडेको मान्छे बेलुका सुरक्षित फर्किन्छु भनेर ढुक्क हुनसक्ने अवस्था छैन ।’

यस्तै लुभुका युनिक श्रेष्ठलाई पनि साथीहरुसँग साइकलमा यात्रा गर्न धेरै मन पर्छ । उनी साथीहरूसँग धेरै ठाउँ गएका पनि छन् । तर साइकलमा यात्रा गर्ने वातावरण नै नभएको उनको गुनासो छ । साइकल लिएर घरबाट निस्किएपछि नफर्किँदासम्म असुरक्षित महसुस गर्नुपर्ने परिस्थितिले उनले साइकल नै चलाउन छोडे । 

अहिले उनी मोटरसाइकलको लाइसेन्स लिएर त्यही चलाउने सोचमा छन् । त्यसका लागि उनले मोटरसाइकल सिकिरहेका छन् । ‘साइकल लेन मात्र हुने हो भने एक त ट्राफिक जाममा बस्नु पर्दैन, छिटो हुन्छ, अर्को खर्च कम र वायुप्रदुषण पनि नहुने भएकाले स्वास्थ्यलाई पनि राम्रो गर्छ ।’ उनी भन्छन्, ‘तर हाम्रो देशमा साइकलमा हिँड्ने वातावरण नै छैन ।’

काठमाडौंमा साइकल चलाउन खोज्नेहरूले यी दुई पात्रले जस्तै समस्या भोगिरहेका छन् । साँढे दुई वर्षअघि भारतीय नाकाबन्दीका कारण इन्धन अभाव हुँदा साइकल यात्रीको सङ्ख्या ह्वात्तै बढेको थियो । तर इन्धन उपलब्ध हुने बित्तिकै साइकल चलाउने यात्रुको सख्या घट्यो । 

अहिले राजधानीमा सडक बिस्तार र नयाँ निर्माण तीव्र गतिमा भइरहेको छ । तर सबै सडकमा साइकल लेनलाई भने प्राथमिकतामा राखिएको छैन । जसको एउटा उदाहरण हो, कोटेश्वर कलंकी सडक खण्ड । 

साइकल मैत्री सडक संरचना र सहरका लागि पटक पटक विभिन्न बहस र छलफल भएका छन् । जनचेतनामूलक र्‍याली र दबाबमूलक कार्यक्रम पनि भइरहेकै छन् । तर, साइकल यात्रीले भोग्नुपरेको सास्ती घटेको छैन, बरु बढेको छ भन्छन् नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठ । 

उनका अनुसार पछिल्लो समय बनेका अधिकांश सडकमा साइकल लेन बनाइएको छैन भने एक दुई ठाउँमा बनाइए पनि स्तरीय छैन । झन्डै २५ वर्ष अघिसम्म काठमाडौंको सडकमा खासै मोटरसाइकल र गाडीहरू थिएनन् । त्यस बेला साइकल चलाउनेको सङ्ख्या उल्लेख्य थियो ।

तर, पछिल्लो समय अरू सवारी साधनको चाप बढ्दै गएकोले साइकल चलाउनेको सङ्ख्या बिस्तारै कम हुन थालेको श्रेष्ठको अनुभव छ । 

‘काठमाडौंका सडकहरू साइकलका लागि जति असुरक्षित हुँदै जान्छन् त्यति नै साइकल कुदाउनेको सङ्ख्या घट्दै जान्छ,’ श्रेष्ठ भन्छन्, ‘बिस्तारै काठमाडौंमा साइकल देख्न मुस्किल हुँदै गएको छ र सवारी साधनको चाप बढ्दा वातावरण प्रदूषण पनि बढिरहेको छ । 

माइतीघरबाट तीनकुने र तिलगंगादेखि सिनामंगलसम्मको सडकमा साइकल लेन बनाइएको छ । तर, त्यहाँ साइकलका चिन्हहरू राखिएका छैनन् भने लेन ठाउँठाउँमा टुक्रिएको छ । त्यसैले, साइकल यात्रीले सडक नै प्रयोग गरिरहेका छन् भने त्यस्ता साइकल लेनमा मोटरसाइकल र गाडी पार्किङ हुने गरेको छ । 

साइकल चलाउनेको संख्यामा वृद्धि गर्न साइकल लेन, यस सम्बन्धी नियम कानुन, साइकल स्ट्याण्ड, साइकलमा लगाउँदै आएको भन्सार छुट, स्वदेशमै साइकल उत्पादनका लागि प्रोत्साहन, साइकल बिमाको व्यवस्थालगायतमा ध्यान दिन सोसाइटीका अध्यक्ष श्रेष्ठले सुझाव दिएका छन् । 

साइकल चलाउँदा विभिन्न फाइदा हुने वातावरणविद्को भनाइ छ । साइकल चलाउँदा वातावरण प्रदूषण हुनबाट जोगिने र ठाउँ धेरै नओगट्ने भएकाले ट्राफिक व्यवस्थापन पनि सहज हुने वातावरणविद् मदन कोइराला बताउँछन् ।

साइकल प्रयोग गर्दा शारीरिक क्रियाशीलता बढ्ने, सानो बाटोमा पनि चलाउन सकिने, बिना इन्धन चल्ने, लगानी थोरै लाग्ने, नेपालमै बनाउन सकिने भएकाले लगानी पनि नेपालमै रहने जस्ता फाइदा छन् ।

‘युरोप अमेरिका लगायत विकसित देशले गाडी गुड्ने सडक मासेर साइकल लेन बनाउन थालेका छन्,’ कोइरालाले भने, ‘नेपालमा साइकल लेन बनाउन सकिएको त छैन नै, यसका लागि बनेका योजना पनि दराजमा थन्किएका छन्, यो दुःखको कुरो हो ।’ 

सम्बन्धित निकायमा यसबारे कुरा राख्दा उच्च पदमा बस्नेहरूले साइकल चलाउने मानिस त छैनन् साइकल लेन बनाएर मात्र के गर्नु ? भन्ने प्रश्न गरेको अनुभव सोसाइटीका अध्यक्ष श्रेष्ठसँग छ । 

‘१० वर्षदेखि साइकल लेन बनाउनु पर्छ भनेर लागिरहेका छौँ, सरकारलाई घचघच्याउने काम गरिरहेका छौँ,’ उनले भने, ‘पछिल्लो समय सबैले साइकल लेनको कुरा उठाइरहेका छन्, अब सुनुवाइ हुन्छ कि ?’

सोसाइटीले ललितपुर र काठमाडौ महानगरपालिकासँग सहकार्य गरेर साइकल लेनको अध्ययन गरिरहेको छ । सोहीअनुरुप ललितपुर महानगरपालिकालाई साइकल मैत्री महानगर बनाउन पहिलो चरणमा कुपण्डोलदेखि लगनखेलसम्म साइकल लेन बनाउन लागिएको छ ।

साइकल मैत्री महानगर बनाउन ललितपुर महानगरपालिकाले कानुन निर्माण गर्ने भएको छ । यसका लागि सोसाइटीलाई डिजाइन, बजेट लगायतका खाका बनाउन भनिएको छ । 

सडक विभागले पनि साइकल लेनका बारेमा अध्ययन गर्न समिति गठन गरेको छ । समितिले प्रतिवेदन बुझाएपछि साइकल लेनको बारेमा थप निर्णय गरिने विभागले जनाएको छ ।

‘उपत्यकालाई साइकल सिटीको रूपमा विकास गर्न सक्छौँ, नसक्ने भन्ने होइन,’ विभागका महानिर्देशक केशव कुमार शर्माले भने, ‘यो तत्कालै हुने कुरा होइन, समय लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्