भोलिदेखि लाङटाङ पदमार्गमा रहेका होटल सञ्चालन हुने



रसुवा : लाङटाङ पदमार्गमा रहेका होटल भोली (आइतबार)देखि सञ्चालन हुने भएका छन् ।

रसुवामा कोरोना संक्रमितको संख्या घटेकोले लाङटाङ पदमार्गमा रहेका होटल, लज तथा चिया पसल सञ्चालनमा आउन लागेको हो ।

रसुवामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि गोसाइँकुण्ड गाउँपालिका ४ को होटल व्यवसाय समितिको आग्रहमा गएको कार्तिक १८ गतदेखि होटल बन्द गरिएको थियो । अहिले रसुवामा कोरोना संक्रमितको संख्या घट्दै गएकाले होटल, लज तथा चिया पसल सञ्चालनमा आउन लागेको वडा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पदमार्गको रिम्छे, रिभर साइड, घोडा तबेला, गुम्बा डाँडा, लाङटाङ, मुण्डुप, क्यान्जिनलगायतका क्षेत्रमा रहेका होटल, लज तथा चिया पसल सञ्चालन हुने छ । पछिल्लो केही हप्तायता लाङटाङ जाने नेपाली पर्यटकको संख्या बढ्दै गएको थियो ।

त्यहाँ पछिल्लो समय दैनिक ६० जनासम्म नेपाली पर्यटक पुग्ने गरेका छन् । रसुवा पुग्ने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक लाङटाङ जाने गर्छन् ।

प्रकाशित : ६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्