भारतीय राजदूतसँगको भेटपछि देउवा र ओलीबीच गोप्य भेटवार्ता



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको खुलेको छ ।

सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको मौकामा देउवाले शनिबार दिउँसो ३ बजेदेखि ६ बजेर १० मिनेटसम्म ओलीसँग बालुवाटारमा लामो छलफल भएको खुलेको हो ।

भेटमा काँग्रेसको तर्फबाट सभापति देउवा, गोपालमान श्रेष्ठ र रमेश लेखक थिए भने ओलीको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सामेल भएको बताइएको छ ।

साँझ प्रधानमन्त्रीसँग नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले समेत भेटेका थिए ।
देउवासँग हिजो शुक्रबार भारतीय राजदूत विनयमोहन क्वात्राले बूढानीलकण्ठमा भेटेको भोलिपल्ट बालुवाटारमा भएको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र नेका सभापति देउवाबीचको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेशको पुनः गाईंगईं र मध्यवधीको चर्चा भइरहेका बेला ओली र देउवाबीच भेटवार्ता भएको हो । यहि बीचमा बालुवाटारले संसदीय दलमा बहुमत सदस्य पुर्याउने गृहकार्य शुरु गरेको बुझिएको छ ।

शीर्ष नेताहरुबीचको टसल नेकपाका प्रत्येक कमिटीमा देखिन थालेको छ । दुई पक्षका नेता कार्यकता सामाजिक संजालमा एक अर्का विरुद्ध आगो ओकालिरहेको अवस्था छ । मंसिर ३ को सचिवालय बैठकबाट दस दिने ‘इन्टरभल’ लिएका ओलीले योबीचमा विपक्षीसँग गोप्य भेटवार्ता गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

पार्टी भित्रको विवाद समाधानका लागि अध्यक्ष प्रचण्डसँग संवादको खाचो नदेखेका ओलीले देउवालाई भने दलबलका साथ बालुवाटार बोलाउनको गर्भमा केही न केही रहेको अनुमान लगाउन सकिन्छ ।

ओलीले पार्टी विभाजनपछि आफूलाई सत्ता सहकार्यका लागि सघाउन छलफल गरिएको बुझ्न गाह्रो छ । यता पार्टीभित्रका विपक्षीलाई मानसिक दवाव सार्जना गर्न पनि ओली देउवासँग भेटघाट गरेको देखिन्छ ।

उता,मनमोहन सिंह भारतीय प्रधानमन्त्री हुँदा सीधै उतै रिपोर्टिङ गर्ने काँग्रेस सांसद अमरेशकुमार सिंहले पनि दौडधुप र भेटघाटलाई तीव्रता दिएका छन् । उनले शनिबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपालसँग उनहरूकै निवासमा भेटी सूचना लिन खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्