पाल्दोर हिमालको सफल आरोहण



धादिङ : धादिङमा रहेको ५ हजार ९ सय ३ मिटरको उचाईको पाल्दोर हिमालको सफल आरोहण गरिएको छ। जिल्लाको पर्यटन विकासका लागि ५ जना नेपाली, ७ जना कोरियन र २ जना मंगोलियन आरोहीले गणेश हिमाल छेउमा रहेको पाल्दोर (पाविल) हिमालको सफल आरोहण गरेका हुन्।

दक्षिण कोरियाका आरोही साङग लि हाको नेतृत्वमा अप्रिल ७ मा ९ जना कोरियाली, ५ जना नेपाली र २ मंगोलियन नागरिकसहित १६ जनाले उक्त हिमालको आरोहणमा गएका थिए। दुई जना कोरियाली भने हाइक्याम्पसम्म मात्र पुगेका थिए।

एसिया पर्वतारोहण महासंघले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा यस पटक नेपालका हिमाल आरोहण गर्ने गत वर्ष नै गरेको निर्णयका आधारमा पाल्दोर हिमाल छनोट गरी आरोहणको निर्णय गरेको गणेश हिमाल पर्यटन विकास समितिका पूर्व अध्यक्ष कुलबहादुर गुरुङले जानकारी दिए।

आरोहण टोलीले पाल्दोर हिमालको चुचुरोमा पर्यटन वर्ष २०२० को लोगो अंकित झन्डा र युएएएको झन्डा पहराएका छन्। आरोहण टोली चैत २४ मा काठमाडौंबाट हिँडेर धादिङको गल्छी, नुवाकोट, रसुवा स्याफ्रुबेसी, गत्लाङ, सोम्दाङ, रुबीभ्याली हुँदै ५ हजार ९ सय ३ मिटरको उचाई रहेको पाल्दोर पिक पुगी २०७६ वैशाख २ मा काठमाडौं फर्किएका हुन्।

यूएएए टोलीले संयूक्त रूपमा आरोहण गरेको यो दोस्रो पटक हो। यसअघि सन् २०१० मा पाल्दोरमै संयुक्त आरोहण गरिएको थियो। पाल्दोक हिमालमा हालसम्म ३०० भन्दा बढी आरोहीले आरोहण गरिसकेको पर्वतारोहण महासंघको तथ्यांकमा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस्