आठौं राष्ट्रिय खेलकुद : चन्द्रकलाको राष्ट्रिय कीर्तिमान



दाङ : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला सटपुटमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। दाङको बेलझुण्डीमा बिहीबार चन्द्रकलाले १२.०४ मिटर सटपुट फाल्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन्।

उनले आफ्नै नाममा रहेको ११.५६ मिटरको कीर्तिमान भंग गरेकी हुन्।  राष्ट्रिय कीर्तिमान बनाएसंगै चन्द्रकलाले थप २५ हजार रुपैयाँ पाउने छिन्। यस स्पर्धामा प्रदेश पाँचकी संगीता अधिकारीले १०.१५ मिटरका साथ रजत जित्दा पुलिसकी बसन्ती चौधरीले १०.०५ मिटरसहित कास्य जितिन्।

सटपुटतर्फ पुरुषमा आर्मीका टंकप्रसाद दाहालले स्वर्ण पदक जिते। उनले १२.१९ मिटर सटपुट फाल्दै स्वर्ण हात पारे। यस्तै १२.०४ मिटरका साथ पुलिसका पुष्कल शर्माले रजत र आर्मीका चित्रबहादुर वलीले ११.८५ मिटरका साथ कास्य पदक जिते। 

प्रतिक्रिया दिनुहोस्