मोटरसाइल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु



रौतहट : रौतहटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा परोहा नगरपालिका ६ बसन्पट्टी बस्ने प्रवीण सिंह रहेको प्रहरीले जनाएको छ । उनी प्रहरी हवल्दार हुन् । काठमाडौंस्थित महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत थिए ।

जिल्लाको दक्षिणी भेग बौधिमाई नगरपालिका ९ स्थित सडकमा ना.६ प ७४२२ नं.को उनी आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना भएको प्रहरीले जनाएके छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३५ वर्षीय राकेश सिंहको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्