मच्छिन्द्रनाथको रथ अस्थायी प्रदर्शनीमा राखिने



ललितपुर : वैशाख शुक्लपक्ष प्रतिपदादेखि असार शुक्ल चौथीसम्म जिल्लामा करिब दुई महिना चल्ने रातो मच्छिन्द्रनाथ जात्रा अवधिभर पाटन सङ्ग्रहालयले मच्छिन्द्रनाथको अस्थायी रथ प्रदर्शनी गर्ने भएको छ ।

पाटनको संस्कृति र शिक्षाबारेमा जनचेतना बढाउने उद्देश्यका साथ जात्राका अवसरमा प्रदर्शनीलाई एकैसाथ अघि बढाउन लागिएको पाटन सङ्ग्रहालय प्रमुख सुरेशमान लाखेले जानकारी दिए । ‘वैशाखको अन्तिम सातादेखि दुई महिना लगातार उक्त प्रदर्शनी हुनेछ’, लाखेले भने, ‘सङ्ग्रहालयको केशवनारायण चोकभित्र उक्त प्रदर्शनी हुनेछ ।’

लाखे हाल रथ निर्माणका लागि विभिन्न सामग्री सङ्कलनमा जुटेका छन् ।

प्रदर्शनीमा प्रयोग हुने सामग्री सक्कली हुनेछन्। रथमा भैरवको मकुण्डो लगाएर पहेँलो पताकाले वरिपरि बेरिने बताइएको छ । ‘आगामी मे १८ अर्थात् जेठ ४ गते अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस परेकाले यसको अवसर छोपी थप सङ्ंग्रहालयको महत्व झल्काउन लागिपरेको हो’, लाखेले थपे, ‘यस वर्ष अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषदले निर्माण गरेको ‘सङ्ग्रहालय एउटा सांस्कृतिक केन्द्र हो जसले परम्परा अन्तर्गत भविष्यलाई जोड्छ,’ भन्ने यस वर्षको नारा साकार पार्नेछौँ ।’

उक्त रथ प्रदर्शनीमा उपस्थित बालबालिकालाई सङ्ग्रहालयले त्यसको रेखाचित्र निर्माण गराउन लगाउने छ । सङ्ग्रहालयले रथ निर्माणका लागि करीब चारदेखि पाँच लाख खर्च गर्ने जनाएको छ । गुठी संस्थान, ललितपुर महानगरपालिकालगायत अन्य स्थानीय सङ्घसंस्थासँग सहयोग माग्ने बताइएको छ ।  लाखेले भने, ‘रातो मच्छिन्द्रनाथको अस्थायी रथ प्रदर्शनी सफल भयो भने कात्तिक नाचको पनि अस्थायी प्रदर्शनी गराउनेछु ।’

यस वर्षको रातो मछिन्द्रनाथको जात्रा यही वैशाख महिनामा हुँदैछ । वैशाख ७ गते मछिन्द्रनाथको महास्नान गरिन्छ । त्यसपछि नै महिला र पुरूष दुवैका रुपमा दशकर्म हुनेछ । यही वैशाख २२ गते रथारोहण गरेपछि वैशाख २५ गते रथ तानिने गुठी संस्थान ललितपुर शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्