अनसनको २२ दिन बिते पनि कलेज प्रशासन मौन



जनकपुरधाम : धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजका कर्मचारीद्धय जानकीशरण यादव र कुलदीप साह अनसन बसेको २२ दिन बितिसकेपनि उनीहरुको माग उपर कलेज प्रशासनले अझै कुनै चासो देखाएको छैन् ।

लामो समयको अनसनले उनीहरूको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रिँदै गएपनि कलेज प्रशासनले कुनै चासो नदेखाएको उनीहरुको आरोप छ । कलेजको बेथितिविरुद्ध अन्तिम श्वास रहेसम्म लडिरहने कर्मचारीद्धय यादव र साहले बताए ।

अनसनरत जानकीशरणले भने,‘कर्मचारीमाथि शोषण भईरहेसम्म लडिरहन्छु, प्राण त्याग्छु, तर पछि हट्दिन । आफ्नो श्वास रहेसम्म आश पनि जिवित रहन्छ ।’ आफुहरुको जीवनरक्षाका लागि कलेज पक्षले कुनै चासो नदेखाएको उनीहरुको आरोप छ ।

अनसनको १२ औं दिनमा उनीहरुको स्वास्थ्य अवस्था बिग्रेपछि आईसियूमा भर्ना गरिएको थियो । कलेज परिसरमै कात्तिक १६ गते आइतबारदेखि अनसनमा बसेका कर्मचारीद्वय यादव र साहको स्वास्थ्य अवस्था बिग्रेपछि प्रहरीले प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरेको थियो ।

कलेज व्यवस्थापनले कर्मचारीसँग विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरु कार्तिक १६ गतेदेखि आमरन अनसनमा बसेका थिए । कलेज प्रशासनले विगतमा गरेका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरुले आकस्मिक बाहेकका सबै सेवाहरु गत असोज १२ गतेदेखि नै ठप्प गरेका थिए । उनीहरुले कलेजले आफूहरुको विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दशैं खर्च र नियमित तलब भत्ता दिनुपर्नेलगायतका मागहरु राख्दै एक महिनासम्म धर्ना समेत दिएका थिए ।

विगतमा पटक-पटक गरेका सहमतिहरु अस्पताल पक्षले कार्यान्वयन नगरी उल्टै प्रहरी प्रशासन लगाएर आफुहरुलाई धम्काउने गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेकोे कर्मचारी हकहित संरक्षण संघर्ष समितका संयोजक उमेश यादवले बताए । दशैँ अवधिभरिमा कलेज व्यवस्थापकले आन्दोलनलाई दवाउनका लागि आन्दोलनरत कर्मचारीमध्ये कुलदिप साह, जयकुमार यादव, राजनारायण यादव र अञ्जु पटेल लगायतका कर्मचारीलाई समेत कारवाही स्वरुप निलम्बन गरेको संयोजक यादवले बताए ।

यसअघि भदौ १५ गते उनीहरुले कलेजको शैक्षिक प्रशासनमा तालाबन्दी समेत गरेका थिए । भदौ २६ गते मेडिकल प्रशासनका वरिष्ठ अधिकृत दयानन्द झाले कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि ३१ गते दुबैपक्षबिच छलफल भई ३ बुँदे सहमति भएको थियो । सहमति अनुसार असोज १ गतेदेखि कलेजको ताला खोली सेवा सूचारु गर्ने, असोज ४ गते हरहिसाब गर्ने र असोज ३० भित्र कर्मचारीको सबै समस्या समाधान गर्ने गरि कलेज प्रशासन र कर्मचारीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

तर, सहमति अनुसार कार्यान्वयन गर्नुपर्नेमा कलेज प्रशासनले हरहिसाब नै नगरी उल्टै असोज ११ गते संघर्ष समितिका संयोजक यादवलाई पूर्वाग्रही तरिकाले स्पष्टीकरण सोधेपछि १२ गतेदेखि जानकी मेडिकल कलेज शिक्षण अस्पताल रमदैयाका १ सय १५ जना कर्मचारी आकस्मिक बाहेकका सबै सेवा बन्द गरी निरन्तर धर्नामा बस्दै आएका थिए ।

आमरण अनसनको २२ दिन बितिसक्दा पनि सरोकारवालाहरुले कुनै चासो नदेखाएको संघर्ष समितका संयोजक यादवले दुःखेसो सुनाए । उनले यस अवस्थामा कर्मचारी तथा चिकित्सकको तलव भत्ता, सञ्चयकोष, अस्पतालको गुणस्तर सुधार, नेपाल मेडिकल काउन्सिलको मापदण्डको पालना लगायतका जायज मागहरुमा सम्बोधन गराई निराधार पूर्वाग्रही रुपमा कर्मचारी उपर भएको कारवाही फिर्ता गराउन सम्बन्धित निकायसँग आग्रह गरिएको समेत बताए ।

प्रकाशित :७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्