विदेह नगरपालिकामा अनिश्चितकालिन धर्नाको ५ दिन बित्यो



जनकपुरधाम : कोरोनाका कारण विगत लामो समयदेखि बन्द भएको नेपाल भारत सिमानाका खोल्नुपर्ने माग गर्दै धनुषामा अनिश्चितकालिन धर्ना सुरु गरिएको ५ दिन बितेपनि सम्बन्धित निकायले कुनै पहल गरेको छैन् ।

नेपाल भारत खुला सिमा संवाद समूहको आयोजनामा धनुषाको विदेह नगरपालिका वडा नम्बर–२ दुहबी टोलमा अनिश्चितकालिन २ घण्टे धर्ना गत बुधवारदेखी नै जारी रहेपनि सम्बन्धित पक्ष भने अझै अनभिज्ञ देखिएको छ ।

जनजीवन सहज भएपनि धनुषा महोत्तरी लगायतका सिमानाका के कति कारणले बन्द गरिएको हो भने जवाफ तत्काल संघीय सरकारले दिनुपर्ने धर्नामा सहभागीहरुको भनाई छ ।

उनीहरुले सरकारले सिमानाका अबिलम्ब खुला नगरे आफुहरुले बैरियर हटाइदिने चेतावनी दिएका छन् । नेपाल सरकारले सधैंको लागी सिमा बन्द गर्ने षड्यन्त्र गरिरहेको उनीहरुको आरोप छ । यस षड्यन्त्र बिरुद्ध ठूलो आन्दोलनको आवश्यकता रहेको सहभागीहरुले बताए । धर्नामा नेपाल भारतको मैत्री चाहने दुबैतर्फका बुद्धिजीवी, विद्यार्थी, व्यापारी सहित स्थानियबासीहरुको दैनिक ठुलो संख्यामा सहभागीता रहने गरेको छ ।

धर्नाको अगुवाई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका नेपाल भारत खुला सिमा संवाद समूहका संयोजक राजीव झाले गरेका हुन । सिमा नखुलेसम्म धर्ना प्रत्येक दिन दिउँसो १ बजे देखि ३ बजे सम्म जारी रहने बताइएको छ ।

प्रकाशित : ७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्