भारतीय विदेश सचिवको नेपाल भ्रमण कार्यकतालिका



काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला मंसिर ११ गते नेपाल भ्रमणमा आउन लागेका छन् ।

नेपाल-भारत संयुक्त आयोगको वैठकको तयारी गर्ने मुख्य उद्देश्यले भारतले विदेश सचिवस्तरीय नेपाल भ्रमण गर्न लागेको हो ।

विदेश सचिव मंसिर ११ गते दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउने पक्का भएसँगै नेपाल र भारतले यस सम्बन्धी छुट्टाछुट्टै औपचारिक घोषणा सोमबार साँझ प्रेस विज्ञप्ति मार्फत गर्ने जनाएका छन् ।

११ गते विहान विशेष विमानमार्फत काठमाडौं आउने भारतीय विदेश सचिव श्रृंगलाले सोही दिन समकक्षी परराष्ट्र सचिव भरतराज पौडेलेसँग दुईपक्षीय भेटवार्ता गर्ने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीसँग पनि सोही दिन शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै विपक्षी नेपाली कांग्रेसलगायतका दलका नेताहरुसँग पनि मंसिर ११ गते नै भेटवार्ता हुने बताइएको छ । विदेश सचिव श्रृंगलाले मंसिर १२ गते नेपाल–भारत सम्बन्ध विषयक एक कार्यक्रमलाई सम्बोधन गर्ने र सोही दिन दुईपक्षीय परियोजना सम्बन्धी एक कार्यक्रममा सहभागीता जनाउने छन् ।

दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने सो संयन्त्रको वैठक डिसेम्बर महिनाको दोस्रो साता नयाँ दिल्लीमा गर्ने तयारी छ । वैठकमा भाग लिनका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँ दिल्ली जानेछन् । कालापानी र सुस्ता विवादलगायत विषयमा वार्ता गर्ने औपचारिक संयन्त्र परराष्ट्र सचिव स्तरीय वैठक भएपनि यस पटकको भ्रमणमा त्यस विषयमा कुराकानी नहुने जनाइएको छ ।

प्रकाशित : ७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्