बेरुजु फर्स्याेट : गृह मन्त्रालय अगाडी, सचिव र प्रहरी महानिरीक्षक सम्मानित



काठमाडौं : बेरुजु फर्स्योटमा उत्कृष्ट काम गरे वापत गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसहित अन्य कर्मचारीलाई आज सम्मान गरिएको छ ।

सचिव राई र महानिरीक्षक खनाललाई आठ हजार रुपैयाँ नगदसहित प्रशंसापत्र तथा गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृत फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद ६ हजार रुपैयाँ सहित प्रशंसापत्रद्वारा सम्मान गरिएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सम्मान गर्दै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गरे ।

यो कार्यक्रमले अन्य मन्त्रालयलाई पनि प्रेरणा प्रदान गर्ने उनको भनाइ छ । गृहमन्त्री थापाले भने, ‘विकास र समृद्धिको लक्ष्य सरकारले लिएको छ, यसका लागि सुशासन अनिवार्य भएकाले यसतर्फ सबै गम्भीर भएर लाग्नुपर्छ ।’

गृह मन्त्रालय र सो अन्तर्गतका निकायहरुको आव २०७३÷७४ र आव २०७४÷७५ मा ६३ दशमलव शुन्य तीन प्रतिशत रकम फर्स्योट गरेको छ । कूल चार अर्ब ३० करोड ९७ लाख रुपैयाँमध्ये दुई अर्ब ७१ करोड ६२ लाख रुपैयाँ बेरुजु फर्स्योट भएको छ । यस्तै नेपाल प्रहरीको आव २०७३÷७४ सम्मको बेरुजु ६८ करोड ४१ लाख रुपैयाँ मध्ये ८५ दशमलव १४ प्रतिशत अर्थात् ५८ करोड २५ लाख रुपैयाँ बेरुजु फर्स्योट भएको छ ।

बेरुजु फर्स्योट मूल्याङ्कन तथा अनुगमन समितिले बेरुजु फर्स्योटमा संलग्न उक्त अवधिमा कार्यरत प्रशासकीय प्रमुख र कर्मचारीलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्न सकिने पत्रानुसार उनीहरुलाई गृह मन्त्रालयले सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्