ढुक्क भएर कक्षा १२ को परीक्षा दिन शिक्षामन्त्री पोख्रेलको अनुरोध



काठमाडौं : कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई ढुक्क भएर परीक्षा दिन शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले अनुरोध गरेका छन् ।

परीक्षाको पूर्वसन्ध्यामा एक अपिल सार्वजनिक गर्दै मन्त्री पोख्रेलले कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न, परीक्षा केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा आवश्यक सचेतना अपनाउन अनुरोध गरेका हुन् ।

सही ढंगले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुन पानीले हात हुने जस्ता सामान्य कुरा पनि पालनामा हेलचेक्राइँ गर्दा कोरोना संक्रमणको महामारी बढेको उनको भनाइ छ ।

‘युवा परीक्षार्थी भाइबहिनीहरुले आगामी परीक्षामा कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्दै अरुको लागि पनि दृष्टान्त बन्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । साथै घरमा रहँदा होस् वा परीक्षा केन्द्र आउँदाजाँदा आवश्यक सचेतना अपनाउन अनुरोध गर्दछु,’ मन्त्री पोख्रेलले भनेका छन् ।

साथै पोखरेलले कक्षा १२ को परीक्षा दिन लागेका सबै विद्यार्थीहरुलाई सफलताको शुभकामना समेत दिएका छन् ।

कक्षा १२ को परीक्षा भोलि (मंगलबार) देखि शुरु हुँदैछ । यस पटकको परीक्षामा होम सेन्टर (आफू रहेको स्थान नजिकको परीक्षा केन्द्र)बाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

यसपटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुने छ । बाँकी ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा विद्यार्थीहरुले नम्बर पाउने छन् । बाँकी २० प्रतिशत कक्षाकार्य, गृहकार्य, अतिरिक्त क्रियाकलाप, समय–समयमा विद्यालयले लिएको परीक्षासमेतलाई आधार मानेर विद्यालयले आन्तरिक मूल्यांकन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले यो परीक्षा सम्पन्न गर्दैछ । परीक्षाको सिलसिलामा परीक्षार्थीहरुलाई कोभिड संक्रमण पुष्टि भई परीक्षामा सहभागी हुन नसक्ने भएमा पुनः परीक्षा दिन पाउने व्यवस्थासमेत मिलाइएको छ ।

प्रकाशित : मंसिर ८, २०७७

प्रतिक्रिया दिनुहोस्