पूर्वी क्षेत्रको भ्रमणमा निस्किए प्रधानमन्त्री ओली



ताप्लेजुङ : प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) पूर्वी क्षेत्रको ओलाङचुङगोला भ्रमणमा निस्किएका छन् । सोमबार बिहान पौने १० बजे प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत ताप्लेजुङको ओलाङचुङगोला, घुन्सा र इलामको जौबारीतर्फ निस्किएका हुन् ।

ओलीले ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षण र घुन्साबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार फक्ताङलुङ गाउँपालिक–६ लेलेप घुन्सालाई नमुना गाउँ घोषणा गरिँदै छ ।

प्रधानमन्त्रीले घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य एकाइको उद्घाटन र स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम रहेको फाउन्डेसनकी अध्यक्ष याङजुम शेर्पाले जानकारी दिइन् ।

ओलीको भ्रमण टोलीम संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेकपा नेता सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई रहेका छन् ।

यसैगरी सदरमुकाम फुङलिङबाट तीन दिन पैदल दूरीमा पर्ने घुन्सामा प्रधानमन्त्रीको स्वागतका लागि प्रदेश सांसद, गाउँपालिका तथा नगरपालिका प्रमुख, उप–प्रमुख, पार्टी कार्यकर्तालगायतको टोली पुगिसकेको छ ।

प्रधानमन्त्री यो क्षेत्रमा मंसिर ५ गते नै आउने कार्यक्रम थियो । पार्टीको आन्तरिक विवादका कारण उक्त कार्यक्रम मंसिर २ गते स्थगित भयो ।

प्रकाशित : मंसिर ८, २०७७

प्रतिक्रिया दिनुहोस्