सुपथ मूल्यका पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने



काठमाडौं : चाडपर्वलाई ध्यानमा राख्दै सञ्चालित सुपथ मूल्यका पसल आगामी माघसम्म सञ्चालन हुने भएको छ ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माघ २ गतेसम्म पसल सञ्चालन गर्ने भएको हो ।

सरकारले खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानलाई गत असोज १५ देखि मङ्सिर ७ गतेसम्म सहुलियत मूल्यमा पसल सञ्चालनको अनुमति दिएको थियो ।

सरकारले दिएका समयमा कम्पनीको लक्ष्य अनुसार सामग्री बिक्री नभए पनि कोरोना महामारीका समयमा खाद्य वस्तु अभाव हुन नदिन सहुलियत मूल्यका पसल सञ्चालनको अवधि थप गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार सरकारले तोकेको सहुलियत मूल्यमा नै माघ २ सम्म २९ वटै बिक्री केन्द्रबाट सहुलियत मूल्य पसल सञ्चालन हुनेछ ।

काठमाडौं उपत्यकाका ५ सहित कम्पनीको शाखा कार्यालय रहेका जिल्लामा उक्त पसल सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीमा रहेका सामग्रीसहित साल्ट कर्पोरेशनले दिएको चिनी बिक्री हुँदै आएको छ ।

उपत्यकाका पाँच स्थानमा राखिएको सुपथ मूल्य पसलमा साढे १० हजार क्विन्टल खाद्यान्न बिक्री भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

प्रकाशित : ८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्