अक्सफर्ड यूनिभर्सिटीको कोभिड खोपबाट ७० प्रतिशत सुरक्षा



काठमाडौं : यूनिभर्सिटी अफ अक्सफर्डले कोरोनाभाइरसविरुद्ध बनाएको खोपले ७० प्रतिशत मानिसमा कोभिडको लक्षण बन्न नदिने एउटा ठूलो परीक्षणले देखाएको छ ।

यसअघि फाइजर र मोडर्ना कम्पनीले बनाएका दुई छुट्टाछुट्टै खोपले ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने घोषणा गरिएको थियो । तर, ती दुई खोपभन्दा अक्सफर्डको खोप धेरै सस्तो हुने, सजिलै भण्डारण गर्न सकिने तथा संसारमा जहाँ पनि सहज रूपमा लैजान सकिने देखिएको छ ।

नियामक निकायबाट प्रयोग गर्न अनुमति प्राप्त भएमा यो खोपले कोरोनाभाइरसको विश्व महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । खोप विकासका लागि प्रायः एक दशक लाग्ने प्रक्रिया अक्सफर्डका वैज्ञाननिकहरूले १० महिनामा सम्पन्न गरेका थिए ।

“आजको घोषणाले हामीलाई खोपको प्रयोगबाट कोरोनाभाइरसका कारण सिर्जित विनाश अन्त्य गर्न अर्को पाइला अगाडि लगिदिएको छ,” उक्त खोप निर्माणकी योजनाकार प्राध्यापक सारा गिल्बर्टले बीबीसीसँग भनिन् ।

बीबीसीका अनुसार यूके सरकारले अक्सफर्ड खोपको १० करोड मात्रा लिने बताइसकेको छ । त्यो परिमाणको खोप पाँच करोड मानिन्छलाई पर्याप्त छ ।

आगामी साता वा महिनामा परीक्षणको अन्तिम चरणमा रहेका अन्य खोपको तथ्याङ्कहरू पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्