पछिल्लो २४ घण्टामा थपिए वीरगञ्जमा १७ जना कोरोना संक्रमित



पर्सा : ३ दिन लगातार संक्रमित फेला नपरेको वीरगञ्जस्थित नारायणी अस्पतालको स्वास्थ्य प्रयोगशालामा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु पर्सा, बारा र रौतहटका भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले जानकारी दिएका छन् । पछिल्लो पटक ९६ जनाको स्वाब परीक्षण गर्दा १७ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रवक्ता डा. चौरसियाले बताए ।

संक्रमितमध्ये नेपाली सेनाको वीरगञ्जस्थित चण्डी प्रसाद गणका दुई सुरक्षाकर्मी, पर्साका १२, बाराका ४ र रौतहटका १ जना छन् । नयाँ थपिएका संक्रमितहरुमा ११ पुरुष र ६ जना महिला छन् ।

उनीहरु १५ देखि ७० वर्ष उमेर समूहका रहेको डा. चौरसियाले बताए । सिटी भ्यालु पनि उनीहरुको १९ देखि ३४ सम्म रहेको छ । मंसिर ३ गते पर्साका १२ र बाराका २ गरी १४ जनामा मात्र संक्रमण पुष्टि भएको थियो । त्यस यता मंसिर ४, ५ र ६ गते कुनै संक्रमित फेला परेका थिएनन् ।

प्रकाशित :८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्